काठमाडौँ,
राँझा (बाँके) मा रहेको नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालयले ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता पुनः कायम गरेको जनाएको छ। गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुँदा भवनसँगै महत्वपूर्ण कागजातहरू नष्ट भएका थिए।
आगजनीपछि कार्यालयको सेवा असोज र कात्तिक महिनाभर प्रभावित बनेको थियो भने मङ्सिर १ गतेदेखि भाडाको भवनबाट सेवा सञ्चालन गरिएको थियो। कार्यालयका प्रमुख मालपोत अधिकृत सबिनसिंह चौधरीका अनुसार मङ्सिरदेखि चैत ८ गतेसम्म १३ हजार ४०९ जग्गाको स्रेस्ता कायम गरिएको छ।
चौधरीले जलेर नष्ट भएका स्रेस्ताहरू पुनः कायम गर्ने काम तीव्र गतिमा भइरहेको बताउँदै सेवाग्राहीलाई सहज रूपमा सेवा प्रदान गर्न प्रयास भइरहेको जानकारी दिनुभयो। एकैपटक धेरै सेवाग्राही आउँदा भीडभाड हुने भए पनि सेवा प्रवाहमा समस्या नआउने गरी व्यवस्थापन गरिएको उहाँको भनाइ छ।
विसं २०७४ पछिका स्रेस्ताहरू डिजिटल प्रणालीमा रहेकाले पुनःस्थापनामा सहज भएको जनाइएको छ। तर, सोभन्दा अघिका स्रेस्ताहरूको हकमा रोक्का यकिन गर्नुपर्ने तथा पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने जस्ता प्रक्रियागत कारणले समय लाग्ने गरेको कार्यालयले जनाएको छ।
सेवाग्राहीलाई सहजता प्रदान गर्न हालै नागरिक सहायता कक्ष स्थापना गरिएको छ। लेखापढी व्यवसायीमार्फत सेवा लिँदा अतिरिक्त आर्थिक भार पर्ने भएकाले नागरिक सहायता कक्षमार्फत सेवा लिन कार्यालयले आग्रह गरेको छ। साथै, मालपोत विभागको अनलाइन प्रणालीमा समस्या नआएसम्म सेवाग्राहीको काममा ढिलासुस्ती नहुने कार्यालयले स्पष्ट पारेको छ।