इरानविरुद्ध अमेरिकी कारबाहीका लागि बेलायती सैन्य अड्डा प्रयोग गर्न अनुमति

mayukarajkumari

बेलायत,

इरानसँग बढ्दो तनावका बीच बेलायतले अमेरिकी सेनालाई आफ्ना सैन्य अड्डाहरू प्रयोग गर्न अनुमति दिएको छ। बेलायती प्रधानमन्त्री कियर स्टार्मरले अमेरिकी अनुरोध स्वीकार गर्दै इरानी क्षेप्यास्त्र केन्द्रहरूमा “सीमित र रक्षात्मक उद्देश्य” का लागि मात्र अड्डा प्रयोग गर्न दिइएको जानकारी दिनुभएको हो। उहाँले बेलायत प्रत्यक्ष आक्रमणमा सहभागी नभएको र आक्रामक सैन्य कारबाहीमा नजोडिने स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री स्टार्मरका अनुसार यो निर्णय सहयोगी राष्ट्रहरूको सामूहिक आत्मरक्षा तथा मध्यपूर्वमा रहेका बेलायती नागरिकको सुरक्षालाई ध्यानमा राखेर गरिएको हो। अमेरिकी सेनाले ग्लोसेस्टरशायरस्थित आरएएफ फेयरफोर्ड तथा हिन्द महासागरको डिएगो गार्सिया अड्डाबाट इरानी मिसाइल क्षमतामाथि लक्षित कारबाही गर्न सक्ने बताइएको छ। बेलायतले अन्तर्राष्ट्रिय कानुनअनुसार आवश्यक र अनुपातिक प्रतिरक्षात्मक कदमका रूपमा अनुमति दिएको जनाएको छ।

इरानमाथि अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि इरानले क्षेत्रका अमेरिकी सैन्य उपस्थितिसँग सम्बन्धित देशहरूमा प्रतिआक्रमण गरेको छ। यस क्रममा विमानस्थल, होटल तथा सैन्य संरचनाहरू प्रभावित भएका छन्, जहाँ बेलायती नागरिकसमेत जोखिममा परेको बेलायत सरकारले जनाएको छ। हाल मध्यपूर्व क्षेत्रमा करिब दुई लाख बेलायती नागरिक रहेको बताइएको छ।

बेलायतले आफ्ना लडाकु विमानहरू सहयोगी राष्ट्रको सुरक्षा तथा आक्रमण रोक्न परिचालन गरेको जनाएको छ भने आवश्यक परे नागरिक उद्धारको तयारी पनि भइरहेको छ। बेलायती सरकारका अनुसार तनाव थप बढ्न नदिन र मिसाइल आक्रमण रोक्न स्रोतस्थलमै खतरा नियन्त्रण गर्नु आवश्यक भएकाले यस्तो निर्णय लिइएको हो।

प्रतिक्रिया