सङ्घीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार नकटाउन माग

mayukarajkumari
काठमाडौँ,

निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनहरूले सङ्घीय निजामती विधेयकमा ट्रेड युनियनसम्बन्धी अधिकार कटौती नगर्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूले नेपालको संविधान तथा अन्तरराष्ट्रिय श्रम सङ्गठन (ILO) अन्तर्गत नेपालले गरेका प्रतिबद्धताअनुसार सबै पेसाकर्मीलाई सङ्गठित हुने र आफूले रोजेको सङ्गठनको सदस्य बन्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने माग गरेका छन्।

संयुक्त विज्ञप्ति जारी गर्दै युनियनहरूले सार्वजनिक सेवामा कार्यरत कर्मचारीको हकहित संरक्षण, निर्णय प्रक्रियामा सहभागिता र सामूहिक सौदाबाजीको अधिकारलाई कानुनी रूपमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूको भनाइमा प्रस्तावित विधेयकले यस्ता अधिकारलाई सीमित गर्ने सम्भावना देखिएकाले सच्याउन आवश्यक छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख ११ गते सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव आह्वान गरेको थियो। सोही मस्यौदामाथि प्रतिक्रिया जनाउँदै ट्रेड युनियनहरूले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

संयुक्त रूपमा माग राख्ने संस्थाहरूमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन रहेका छन्। 

प्रतिक्रिया