सिक्टा नहरमा फस्दै वन्यजन्तु, वन्यजन्तुमैत्री संरचना नहुँदा जोखिम बढ्यो

mayukarajkumari

काठमाडौं,

बाँके जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहर वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तु अकालमै मर्ने समस्या बढ्दै गएको छ। पानी पिउन नहरसम्म पुग्ने वन्यजन्तु नहरमै फसेर ज्यान गुमाउने घटनाहरू बढिरहेका छन्।

सिक्टा सिँचाइको पश्चिमी मूल नहरको अधिकांश भाग बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन तथा सरकारद्वारा व्यवस्थित चक्ला वन क्षेत्रमा पर्ने भएकाले जोखिम झन् बढेको छ। गर्मीयाम सुरु भएसँगै हरेक दिनजसो पानी पिउन नहरमा पुग्ने वन्यजन्तु फसेर मर्ने गरेको डिभिजन वन कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी टङ्क गुरुङका अनुसार पछिल्लोपटक शनिबार हरलाफाँटा सामुदायिक वन क्षेत्रमा नहरमा चारवटा चित्तल फसेका थिए। स्थानीय, वन कर्मचारी तथा निकुञ्ज कर्मचारीको संयुक्त प्रयासमा उनीहरूको सकुशल उद्धार गरी सुरक्षित वन क्षेत्रमा छाडिएको थियो।

यसअघि राप्तीसोनारी गाउँपालिका–२ खोरियास्थित नहरमा पानीमा फसेको मृगलाई मारी मासु बाँडफाँड गरेर घर फर्कँदै गरेका तीन जना स्थानीयलाई पक्राउ गरिएको छ। उनीहरूलाई बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीयको सहयोगमा वन क्षेत्रमै नियन्त्रणमा लिइएको हो।

डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार वन्यजन्तु पानीको खोजीमा नहरमा जाने गर्दछन्। पछिल्लो समय डढेलोका कारण वन्यजन्तु अझ बढी नहरमा फस्ने गरेका छन्। चित्तल, मृग, नीलगाई र बँदेलजस्ता वन्यजन्तु डढेलोबाट बच्न भाग्दा नहरमा खस्ने घटनामा वृद्धि भएको उहाँले बताउनुभयो।

उहाँका अनुसार नहर वन्यजन्तुमैत्री नभएकाले हालसम्म सयौँ वन्यजन्तु फसेका छन्। केही घटनामा उद्धार सम्भव भए पनि कतिपय अवस्थामा चोरी सिकारीका घटनासमेत हुने गरेका छन्।

वन क्षेत्रमा वन्यजन्तुलाई पानी उपलब्ध गराउन पोखरी निर्माण गरिएको भए पनि पर्याप्त पानी नभएको जनाइएको छ। त्रिशक्ति र भगवती सामुदायिक वनमा रहेका पोखरी पर्याप्त नहुँदा समस्या समाधान हुन सकेको छैन।

स्थानीय अगुवा मदन वलीका अनुसार सिक्टा सिँचाइ आयोजनाले केही स्थानमा वन्यजन्तुका लागि पानी पिउने घाट निर्माण गरे पनि ती सुरक्षित र भरपर्दा छैनन्। गुणस्तरीय घाट निर्माण र नहरको दुवैतर्फ तारजाली लगाउन सके दीर्घकालीन रूपमा समस्या समाधान हुने उहाँको भनाइ छ।

प्रतिक्रिया