काठमाडौं,
हिमाली जिल्ला जुम्लामा पहिलोपटक सरकारका स्थायी कर्मचारीका लागि इ–पेन्सन सेवा सुरु गरिएको छ। सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको उक्त सेवा जुम्लाबाट कार्यान्वयनमा ल्याइएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ।
कार्यालयका कोष नियन्त्रक मन्जित अछामीका अनुसार इ–पेन्सन सेवा लागू भएसँगै सेवाग्राहीले आवश्यक प्रक्रिया स्थानीय स्तरमै पूरा गर्न सक्ने भएका छन्। यसले पेन्सनसम्बन्धी सेवामा सहजता ल्याएको बताइएको छ।
यस सेवाअन्तर्गत चन्दननाथ नगरपालिकाका निवृत्त कृषि विकास कार्यालयका कृषि अधिकृत कमल थापा क्षेत्रीले पहिलो सेवाग्राहीका रूपमा सेवा लिएका छन्। कार्यालयमार्फत अधिकार पत्रसँगै सञ्चित बिदाको रकम तथा उपचार खर्चसमेत एकै ठाउँबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
इ–पेन्सन सेवा सुरु भएसँगै अब सेवाग्राहीलाई काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ। यसबाट समय र खर्च दुवैको बचत हुने विश्वास गरिएको छ। सेवा प्रवाहलाई अझ प्रभावकारी र डिजिटल बनाउने दिशामा कार्यालयले थप पहल गरिरहेको जनाएको छ।