काठमाडौँ
बुद्ध जयन्तीको अवसरमा लुम्बिनी मा आयोजना हुने विशेष समारोहमा सहभागी हुने तय भएका प्रधानमन्त्री बालेन्द्र शाह अन्तिम क्षणमा कार्यक्रमबाट पछि हटेका छन्। प्रमुख अतिथिका रूपमा उपस्थित हुने तयारी हुँदाहुँदै उनले नजाने निर्णय गरेका हुन्।
लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री कार्यालयबाट व्यस्तताको कारण जनाउँदै सहभागिता सम्भव नभएको जानकारी प्राप्त भएको हो। कोषका सदस्य श्याम रोक्काले प्रधानमन्त्री नआउने विषयमा औपचारिक सूचना आएको बताएका छन्।
प्रधानमन्त्री अनुपस्थित रहने भएपछि अब समारोहको प्रमुख अतिथिका रूपमा सभामुखलाई आमन्त्रण गरिएको छ। सभामुख आजै लुम्बिनी पुग्ने र भोलि हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका स्वकीय सचिव नवराज पाण्डेले बताएका छन्।
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विभिन्न अड्कलबाजीसमेत सुरु भएका छन्। केही स्रोतका अनुसार कोषका उपाध्यक्ष ल्हारक्याल लामासँग एउटै मञ्च साझा गर्न नचाहेकाले उनले कार्यक्रममा सहभागी नहुने निर्णय गरेको दाबी गरिएको छ।
यसअघि रामचन्द्र पौडेल लाई पनि प्रमुख अतिथिका रूपमा सहभागी गराउने प्रयास गरिएको थियो। तर राष्ट्रपति र प्रधानमन्त्री दुवैले व्यस्तता जनाउँदै असमर्थता जनाएपछि अन्ततः सभामुखलाई प्रमुख अतिथिको जिम्मेवारी दिइएको बताइएको छ।