काठमाडौं,
विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान’ ले नेपाललाई विश्वकै ललितकलाको प्रमुख केन्द्रका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै सोका लागि सरकारको ध्यानाकर्षण गराएको छ। महाअभियानका तर्फबाट प्राज्ञ नगेनसिंह ठकुरीले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मामार्फत प्रधानमन्त्रीसमक्ष आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरू प्रस्तुत गर्नुभएको हो।
महाअभियानले पेश गरेको नौबुँदे ध्यानाकर्षणपत्रमा नेपाली कला र वास्तुकलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ऐतिहासिक कलाकार अरनिकोको जस्तै स्वर्णयुग सिर्जना गर्न सकिने उल्लेख गरिएको छ। त्यसका लागि हरेक सरकारी विद्यालयमा अनिवार्य रूपमा ललितकलाका कला गुरु नियुक्त गर्नुपर्ने, विभिन्न स्रोतबाट संकलित करको निश्चित प्रतिशत ललितकला क्षेत्रमा लगानी गर्नुपर्ने तथा प्रत्येक सरकारी कार्यालयमा कम्तीमा एक कलाकृति अनिवार्य रूपमा राख्नुपर्ने प्रस्ताव गरिएको छ।
त्यसैगरी, नेपाली कलाकारका कलाकृतिलाई बैंकमा धितो राखेर ऋण सुविधा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने, नेपाल ललितकला विकास बोर्ड स्थापना गर्नुपर्ने र ललितकला पर्यटनलाई विशेष प्राथमिकता दिनुपर्ने माग गरिएको छ। साथै, विज्ञापन बोर्डमा कलाकारको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषय पनि ध्यानाकर्षणपत्रमा समेटिएको छ।
महाअभियानले अन्तर्राष्ट्रियस्तरको कला पुरस्कारको स्थापना, छुट्टै ललितकला विश्वविद्यालयको गठन तथा ‘क’ श्रेणीका पत्रिकामा अनिवार्य रूपमा एक पृष्ठ ललितकलाका लागि छुट्याउनुपर्ने प्रस्तावसमेत अघि सारेको छ। साथै, नेपालको संविधानमै ललितकलालाई राज्यको एक महत्वपूर्ण अङ्गका रूपमा समावेश गर्नुपर्ने माग गरिएको छ।
महाअभियानका प्राज्ञ ठकुरीले सरकारद्वारा अघि सारिएको १०० बुँदे कार्यसूचीले देशमा सुशासन र समृद्धिको नयाँ आशा जगाएको उल्लेख गर्दै कलाकारको विकासले सांस्कृतिक पहिचान सुदृढ गर्नुका साथै पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। वर्तमान नेतृत्वमा नेपाललाई विश्वस्तरमा ललितकलाको ‘डायमण्ड युग’ को देशका रूपमा स्थापित गर्न सकिने उहाँको भनाइ छ।
ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कलाकारहरूले देशको संस्कृति, पहिचान, पर्यटन, उद्योग र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नेपाल आफैँ कला–संस्कृतिमा धनी राष्ट्र भएको बताउँदै सुझावसहितको ध्यानाकर्षणपत्र प्रधानमन्त्रीसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।