अस्पतालमा अब शनिबार–आइतबार सेवा बन्द, बिरामीलाई असुविधा

mayukarajkumari

काठमाडौँ, 

सरकारले सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय गरेपछि अब अस्पतालमा पनि यही नियम लागू हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा शनिबार र आइतबार आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले भने, “अन्य सार्वजनिक बिदामा पनि अस्पतालका आकस्मिक कक्ष २४ घण्टा खुल्ला रहनेछन्। तर ओपीडी सेवा बन्द हुनेछ। सरकारी निर्णयपछि अब आइतबार आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द हुनेछन्।”

ओपीडी सेवा बन्द हुँदा बिरामीले असुविधा भोग्नुपर्ने अवस्था सिर्जना हुने अनुमान गरिएको छ। सह-प्रवक्ता अधिकारीले नेपालखबरसँग भने, “अहिलेलाई सरकारले गरेको निर्णय नै लागू हुन्छ। बाँकी बिरामीलाई परेको असुविधाका आधारमा पछि अन्य निर्णय गर्न सकिन्छ।”

सरकारले सातामा दुई दिन बिदा दिने निर्णयअनुसार सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ।

प्रतिक्रिया