पञ्चकोशीमा वैशाख १३ देखि धार्मिक पर्यटन मेला आयोजना हुने

mayukarajkumari

काठमाडौँ,

दैलेखको पवित्र पञ्चकोशी क्षेत्रअन्तर्गत नाभिस्थानमा धार्मिक पर्यटन मेला आयोजना हुने भएको छ। पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखले आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै यही वैशाख १३ गतेदेखि १९ गतेसम्म मेला सञ्चालन गरिने जानकारी दिएको हो। आयोजक समितिका अध्यक्ष नवीन योगीका अनुसार जगत् जननी सत्यदेवीको नाभी पतन भएको मानिने नाभिस्थानमा मेलाको आयोजना गरिन लागेको हो।

पञ्चकोशी क्षेत्रको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, साथै धार्मिक पर्यटनमार्फत कर्णालीको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। मेलाका लागि करिब २२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

पादुका, नाभिस्थान, कोटीला, श्रीस्थान र धुलेश्वर गरी पाँच शक्तिपीठलाई समेटिएको पञ्चकोशी क्षेत्रमा आयोजना हुने यस मेलामा नेपालका साथै भारतबाट समेत श्रद्धालु भक्तजन आउने अपेक्षा गरिएको छ। आगन्तुक साधु–सन्त तथा श्रद्धालुहरूका लागि आवाससहित आवश्यक व्यवस्थापन गरिने पनि आयोजकले जनाएको छ।

पश्चिम नेपालका हिन्दू धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्र मानिने यस क्षेत्रमा देवकर्म, पितृकर्मलगायत धार्मिक अनुष्ठान गर्दा सिद्धि प्राप्त हुने विश्वास रहिआएको छ। भौगोलिक विकटताका कारण ओझेलमा परेको पञ्चकोशी क्षेत्र धार्मिक, पर्यटकीय र आर्थिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। साथै, यस क्षेत्रलाई पेट्रोलियम ग्यासको सम्भावित भण्डारका रूपमा पनि हेरिएको छ।

विसं २०७२ चैतमा नेपाल र चीनबीच भएको द्विपक्षीय सम्झौताअनुसार यहाँ पेट्रोलियम ग्यासको विस्तृत अन्वेषणका लागि परियोजना स्वीकृत भई हाल सञ्चालनमा रहेको छ।

प्रतिक्रिया