आज शीतल निवासमा नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण

mayukarajkumari

काठमाडौँ, 

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा बालेन्द्र शाहलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।

शपथअघि नेता शाहलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठनको प्रक्रिया अघि बढाइएको जनाइएको छ।

राष्ट्रपति कार्यालयका अनुसार अपराह्न शपथ ग्रहण कार्यक्रम सञ्चालन हुनेछ। उक्त समारोहमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ गराइने तयारी रहेको बताइएको छ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले उल्लेख्य बहुमत हासिल गरेको थियो। सो दलले बिहीबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरेको हो।

प्रतिनिधिसभा निर्वाचनमा नेता शाह झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मतसहित विजयी हुनुभएको थियो। यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराइसक्नुभएको छ।

प्रतिक्रिया