काठमाडौँ,
महावीर जैनको २६२५औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश दिनुभएका उहाँको सम्झनामा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
इसापूर्व ५९९ मा भारतको वैशाली नजिकै रहेको कुण्डलग्राम गाउँमा राजा सिद्धार्थ र रानी त्रिशूलाका पुत्रका रूपमा उहाँको जन्म भएको थियो। राजपरिवारमा जन्मिए पनि सांसारिक सुख त्यागेर शान्ति र सत्यको खोजीमा उहाँ तपस्यामा लाग्नुभएको विभिन्न जैन ग्रन्थहरूमा उल्लेख गरिएको छ। करिब १२ वर्षको कठोर तपस्यापछि उहाँले मानव समाजलाई जैन दर्शनको मार्ग देखाउनुभएको मानिन्छ।
नेपाल जैन परिषद्का अध्यक्ष सुशीलकुमार जैनका अनुसार शास्त्रीय मान्यताअनुसार जैन धर्ममा २४ तीर्थङ्कर रहेका छन्। धर्मको मार्ग देखाउने भएकाले उनीहरूलाई तीर्थङ्कर भनिएको हो। महावीरले हिंसा नगर्नु, सत्य बोल्नु र आवश्यकताभन्दा बढी वस्तु सङ्ग्रह नगर्नु पर्ने सन्देश दिनुभएको बताइन्छ।
महावीरको विचारअनुसार अरूलाई दुःख दिनु पनि हिंसा हो, त्यसैले अरूको उपकार गर्नु नै साँचो अहिंसा हो। उहाँद्वारा रचित ‘उत्तर अध्याय सूत्र’ कृति विशेष रूपमा चर्चित रहेको छ, जसको नेपाली अनुवाद मानव लिन केन्द्रका संस्थापक डा. मणिभद्र मुनिजीले गर्नुभएको छ।
जन्मजयन्तीका अवसरमा नेपाल जैन परिषद्लगायत विभिन्न सङ्घसंस्थाले देशका विभिन्न स्थानमा धार्मिक प्रवचन, पूजा तथा सामाजिक कार्यक्रम आयोजना गरी दिवस मनाउने जनाएका छन्।