सुत्केरीको उपचारका क्रममा सुर्खेतमा मृत्यु

mayukarajkumari

कर्णाली, 

तिला
गाउँपालिका-३, जुम्ला सार्कीबाडाकी २० वर्षीया अस्मिता नेपालीको उपचारका क्रममा सुर्खेतमा बिहीबार राति मृत्यु भएको छ। अस्मिता नेपालीले यही फागुन २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा शिशु जन्म दिएकी थिइन्। जन्मपछि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगिएको थियो।

प्रदेश अस्पताल सुर्खेतका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ललिजङ्ग शाहीका अनुसार, नेपालीको गर्भावस्थामा उच्च रक्तचापको समस्या देखिएर उनलाई अस्पताल पुर्‍याइएको थियो। बिरामीमा मिर्गौला कलेजोको पनि समस्या देखिएको थियो। जुम्लामा आवश्यक उपचार उपलब्ध नभएपछि उनलाई सुर्खेत ल्याइएको सेन्ट्रल भेनस क्याथेटराइजेसन (सिभिसी) खोल्न नसकिएकाले सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार सुरु गरिएको थियो। डा. शाहीले उपचारको क्रममा बिहीबार राति १ः०० बजे अस्मिताको मृत्यु भएको जानकारी दिनुभयो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक कमल थानीका अनुसार, अस्मिताको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकोप्टरमार्फत उनलाई सुर्खेत पुर्‍याइएको थियो। उनले भने, “अस्मिताको कलेजो मिर्गौलामा समस्या देखिएको थियो। चार दिनअघि जन्म दिएकी उनले उपचारको क्रममा ज्यान गुमाएकी छन्। नवजात शिशुको अवस्था भने सामान्य छ।”

मृतकका श्रीमान् राज नेपालीले आर्थिक अवस्था कमजोर भएको कारण ऋण गरेर सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै शव जुम्लामा ल्याइएको आजै दाहसंस्कार गरिने जानकारी दिनुभयो। राज नेपालीले निरन्तर प्रयास गर्दा पनि अस्मितालाई बचाउन नसकेको दुःख व्यक्त गर्नुभयो।

प्रतिक्रिया