काठमाडौँ,
राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्ने सेवाग्राहीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै अनलाइन दर्ता प्रक्रिया बढी प्रभावकारी बनेको हो।
जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश नागरिकले अनलाइन माध्यमबाटै नाम दर्ता गरिरहेका छन्। उहाँका अनुसार हालसम्म आवेदन दिएकामध्ये करिब ९० प्रतिशतले अनलाइनमार्फत नाम दर्ता गरेका छन्।
कार्यालयका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रमार्फत ३३५ जना र कार्यालयमा भौतिक रूपमा उपस्थित भई पाँच जना गरी कुल ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई मतदाता नामावली सङ्कलन तथा अद्यावधिक प्रक्रियामा सहयोग गर्न पत्राचारसमेत गरेको जनाएको छ।
यसअघि गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जुम्लामा ३४ हजार २८० महिला र ३७ हजार ४५९ पुरुष गरी कुल ७१ हजार ७३९ मतदाता रहेका थिए। अनलाइन दर्ता प्रणालीले सेवा सहज र छरितो बनेको भन्दै यसको प्रयोग बढ्दै गएको निर्वाचन कार्यालयले जनाएको छ।