एफबीआई दस्तावेजमा दाबी: सन् २००६ मा ट्रम्पले एपस्टिनको व्यवहारबारे जानकारी रहेको संकेत

mayukarajkumari


अमेरिकाका पूर्व फ्लोरिडा प्रहरी प्रमुखले सन् २००६ मा डोनाल्ड ट्रम्पले आफूलाई फोन गरी जेफ्री एपस्टिनको व्यवहारबारे “सबैलाई थाहा थियो” भनेको दाबी गरेका छन्। यो दाबी अमेरिकी न्याय विभागले सार्वजनिक गरेको एफबीआईको सन् २०१९ को अन्तर्वार्ता अभिलेखमा उल्लेख गरिएको छ। उक्त अभिलेख अनुसार, पाम बिच प्रहरीले एपस्टिनविरुद्ध अनुसन्धान सुरु गरेपछि ट्रम्पले फोन गरेर “धन्यबाद, तपाईंहरूले उनलाई रोक्दै हुनुहुन्छ, सबैलाई थाहा थियो उसले यस्तो गरिरहेको थियो” भनेका थिए। त्यसबेला पाम बिचका प्रहरी प्रमुख माइकल राइटर रहेको जनाइएको छ, यद्यपि दस्तावेजमा नाम गोप्य राखिएको छ।

एफबीआईको सारांशमा ट्रम्पले सन् २००६ जुलाईमा गरेको भनिएको फोन संवादमा आफूले एपस्टिनलाई मार–आ–लागो क्लबबाट निकालिदिएको र “न्यूयोर्कका मानिसहरूलाई ऊ घृणित व्यक्ति भएको थाहा थियो” भनेको उल्लेख छ। साथै, ट्रम्पले घिस्लेन म्याक्सवेललाई एपस्टिनकी “सहयोगी” भन्दै उनीमाथि ध्यान केन्द्रित गर्न सुझाव दिएको दाबी गरिएको छ। म्याक्सवेल सन् २०२१ मा नाबालिग बालिकाहरूलाई फसाएर यौन शोषणमा संलग्न गराएको आरोपमा दोषी ठहर भई २० वर्षको जेल सजाय भोगिरहेकी छन्।

तर ट्रम्पले भने एपस्टिनका अपराधबारे आफूलाई पहिले कुनै जानकारी नभएको दाबी गर्दै आएका छन्। सन् २०१९ मा एपस्टिन पक्राउ परेपछि ट्रम्पले पत्रकारहरूसँग “मलाई केही थाहा थिएन, मैले धेरै वर्षदेखि उनीसँग कुरा गरेको छैन” भनेका थिए। न्याय विभागका एक अधिकारीले बीबीसीलाई दिएको बयानमा २० वर्षअघि ट्रम्पले प्रहरीलाई सम्पर्क गरेको पुष्टि गर्ने कुनै प्रमाण नभएको बताएका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पनि उक्त फोन “भएको हुन सक्छ वा नहुन सक्छ” भन्दै स्पष्ट जानकारी नभएको बताइन्।

उल्लेखनीय छ कि सन् २००६ मा पाम बिच प्रहरीले एपस्टिनविरुद्ध नाबालिग बालिकामाथि यौन शोषणको आरोपमा अनुसन्धान थालेको थियो। पछि मुद्दा संघीय अभियोजनकर्तालाई सुम्पिएको थियो र सन् २००८ मा विवादास्पद सहमति सम्झौतामार्फत उनलाई कडा अभियोगबाट जोगाइएको थियो। पछिल्ला घटनाक्रममा म्याक्सवेलले अमेरिकी प्रतिनिधिसभाको निगरानी समितिसमक्ष बन्द सत्रमा बयान दिन अस्वीकार गर्दै पाँचौं संशोधनअन्तर्गत मौन बस्ने अधिकार प्रयोग गरेकी थिइन्। उनका वकिलले ट्रम्पबाट क्षमादान पाए पूर्ण रूपमा बयान दिन तयार रहेको बताएका छन्, तर ट्रम्पले म्याक्सवेललाई क्षमादान दिने विषयमा आफूले विचार नगरेको बताएका छन्।

प्रतिक्रिया