प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाशमा जाने

mayukarajkumari

काठमाडौं,

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाशमा जाने भएका छन्। ६५ वर्षे उमेर हद पुगेको कारण उनी पदमुक्त हुन लागेका हुन्। कानुन व्यवसायी पृष्ठभूमिबाट न्याय क्षेत्रमा प्रवेश गरेका राउतले सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश पदमा लामो समय सेवा गरेका छन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार राउत आज अन्तिम पटक अदालतमा उपस्थित हुनेछन्। भोलिदेखि उनी अनिवार्य अवकाशमा जाने भएसँगै सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नेछिन्।

राउतले वकालत क्षेत्रमा करिब ३३ वर्ष योगदान दिएका थिए भने सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा ८ वर्ष सेवा गरेका थिए। उनी २०७३ साउन १७ गते न्यायाधीश नियुक्त भएदेखि नै प्रधानन्यायाधीश पदमा पुग्ने क्रममै थिए।

न्यायालयभित्र रहेका विकृति र विसंगतिबारे अध्ययन गर्न गठित विभिन्न समितिहरूमा पनि राउतको सक्रिय सहभागिता रहेको थियो। उनले सर्वोच्च अदालत बार एसोसिएसनले गठन गरेको अध्ययन समितिमा काम गरे भने तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बनेको न्यायपालिका सुधारसम्बन्धी समितिमा सदस्यका रूपमा भूमिका निभाएका थिए।

उनको अनुभव, निष्ठा र छविका आधारमा न्यायालय सुधारमा उल्लेखनीय योगदान हुने अपेक्षा गरिएको थियो। यद्यपि, कार्यकालभर केही संरचनागत सुधारका प्रयास भए पनि कार्की नेतृत्वको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दै राउत अनिवार्य अवकाशमा जान लागेका छन्।

प्रतिक्रिया