क्षतिग्रस्त मुटु प्रत्यारोपणपछि इटालीमा दुई वर्षे बालकको मृत्यु

mayukarajkumari

इटाली,

इटालीमा मुटु प्रत्यारोपणपछि स्वास्थ्य अवस्था जटिल बनेका दुई वर्षका एक बालकको मृत्यु भएको छ। परिवारका कानुन व्यवसायीका अनुसार डोमेनिको नामका बालकको शनिबार बिहान उपचारका क्रममा निधन भएको हो।

नेपल्सस्थित मोनाल्डी अस्पतालले बालकको स्वास्थ्य अवस्था अचानक र अपरिवर्तनीय रूपमा बिग्रिएपछि उनको ज्यान गएको जनाएको छ। गत डिसेम्बरमा गरिएको मुटु प्रत्यारोपणका लागि ल्याइएको दाता मुटु ढुवानीका क्रममा ‘ड्राइ आइस’सँग सिधै सम्पर्कमा राखिएको कारण ऊतकमा गम्भीर क्षति पुगेको बताइएको छ।

करिब ८०० किलोमिटर टाढाबाट अनुपयुक्त कन्टेनरमा मुटु ल्याइएको र तापक्रम मापन गर्ने उपकरणसमेत नराखिएको आरोप लागेको छ। घटनापछि अभियोजकहरूले छ चिकित्सकलाई अनुसन्धानको दायरामा राख्दै औपचारिक छानबिन सुरु गरेका छन्।

प्रत्यारोपणपछि बालक करिब दुई महिनासम्म लाइफ सपोर्टमा थिए। विशेषज्ञ चिकित्सकहरूको टोलीले पुनः अर्को प्रत्यारोपण सम्भव नभएको निष्कर्ष निकालेको थियो। लामो समय लाइफ सपोर्टमा राख्दा फोक्सो, कलेजो र मिर्गौलामा समेत असर परेको चिकित्सकहरूले बताएका छन्।

घटनापछि परिवारले सम्पूर्ण चिकित्सकीय विवरण सार्वजनिक गर्न माग गरेको छ भने इटालीका स्वास्थ्य मन्त्रीले घटनाबारे स्पष्ट अनुसन्धान आवश्यक रहेको बताएका छन्। यो घटनाले देशभर स्वास्थ्य सेवा प्रणालीको सुरक्षाबारे व्यापक बहस सुरु भएको छ।

प्रतिक्रिया