आर्थिक कूटनीति र सेवा प्रवाह सुधारका विषयमा परराष्ट्र मन्त्रालयको छलफल
mayukarajkumari
17 April 2026
काठमाडौँ,
परराष्ट्र मन्त्रालयले पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा उपप्रमुखहरूसँग बिहीबार भर्चुअल माध्यमबाट आर्थिक कूटनीति र सेवा प्रवाह सुधारसम्बन्धी छलफल गरेको छ।
छलफलका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले सुदृढ आर्थिक कूटनीतिमार्फत सुशासन र आर्थिक समृद्धि हासिल गर्नु सरकारको मुख्य प्राथमिकता भएको बताउनुभयो। उहाँले सोहीअनुसार नियोगहरूलाई आफ्ना गतिविधि सञ्चालन गर्न निर्देशन दिँदै नवप्रवर्तन र डिजिटल प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो।
परराष्ट्र सचिव अमृतबहादुर राईले पनि प्रभावकारी सेवा प्रवाह र आर्थिक कूटनीति प्रवर्द्धनमा जोड दिनुभयो। उहाँले प्रविधिको अधिकतम उपयोगमार्फत कार्यक्षमता वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
छलफलमा सम्बन्धित देशमा कार्यरत राजदूत, महावाणिज्यदूत तथा कार्यवाहक राजदूतहरूले आ–आफ्नो देशको वर्तमान अवस्था, नेपाली नागरिकको सुरक्षास्थिति, सेवा प्रवाहका चुनौती तथा समाधानका लागि अपनाइएका नवीन अभ्यासबारे जानकारी गराएका थिए। परराष्ट्र मन्त्रालयले यस छलफललाई नियोगहरूको कार्यसम्पादन सुधार र समन्वयलाई सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।