प्रतिबन्धित अनलाइन सट्टेबाजीमा संलग्न नहुन अनुसन्धान ब्यूरोको पुनः चेतावनी

mayukarajkumari

काठमाडौँ,

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी एप तथा प्लेटफर्ममार्फत कुनै पनि प्रकारको कारोबार नगर्न र नगराउन सर्वसाधारणलाई पुनः सचेत गराएको छ। सरकारले यसअघि नै यस्ता अनलाइन सट्टेबाजी सेवा सञ्चालनमा रोक लगाइसकेको छ।

ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गैरकानुनी गतिविधिमा संलग्न नहुन र अरूलाई पनि संलग्न नगराउन सबैमा अनुरोध गरिएको छ। यदि त्यस्तो कार्य गरेको पाइएमा प्रयोग गरिएका उपकरणसमेत जफत गरिने स्पष्ट पारिएको छ।

प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी सम्बन्धी कसुरमा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिने र दोषी ठहर भएमा कैद वा जरिवाना वा दुवै सजाय हुन सक्ने जनाएको छ। साथै, सट्टेबाजीबाट आर्जित रकम र प्रयोग भएका उपकरणसमेत जफत गरिने ब्यूरोले जनाएको छ।

बन्द गरिएका कुनै पनि सट्टेबाजी एप वा प्लेटफर्ममार्फत कारोबार नगर्न र यस्ता गतिविधि कतै भइरहेको थाहा पाएमा सम्बन्धित निकायलाई जानकारी गराउन समेत ब्यूरोले सर्वसाधारणसँग अनुरोध गरेको छ।

प्रतिक्रिया