भक्तपुर–थिमिमा बिस्केट जात्राको रौनक, देशभरबाट हजारौँ भक्तजनको घुइँचो

mayukarajkumari

काठमाडौँ,

भक्तपुरमा परम्परागत रूपमा मनाइने प्रसिद्ध बिस्केट (बिस्का) जात्राको रौनक यतिबेला थिमि क्षेत्रमा छाएको छ। नयाँ वर्षको अवसरमा सुरु हुने यस जात्रा हेर्न भक्तपुरसहित काठमाडौँ, ललितपुर, काभ्रे लगायत विभिन्न जिल्लाबाट हजारौँ भक्तजनको भीड लागेको छ।

भक्तपुरको भेलुखेलस्थित ल्यासिंखेलमा चैत मसान्तको साँझ उठाइएको इन्द्रध्वजासहितको लिङ्गो हेर्न ठूलो संख्यामा मानिसहरू जम्मा भएका थिए। परम्पराअनुसार ५५ हात लामो लिङ्गो उठाइने र अर्को दिन ढालिने यस जात्रालाई शत्रुनाश, सहकाल र मनोकामना पूरा हुने विश्वासका साथ हेर्ने गरिन्छ।

यसै अवसरमा भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको चरखण्डी महादेव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। स्थानीय विश्वासअनुसार चरखण्डी कुण्डमा स्नान गरी महादेवको पूजा गरे रोग नाश हुने र काम सफल हुने मान्यता रहिआएको छ। खट जात्रा गर्दै भक्तजनले मन्दिर परिक्रमा गरी पूजा–आराधना गरेका छन्।

त्यस्तै, सिरुटार र बालकोट क्षेत्रमा पनि गुप्तेश्वर महादेव मन्दिर केन्द्रित खट यात्रा गरी बिस्केट जात्रा मनाइएको छ। धिमे बाजासहित टोल–टोल परिक्रमा गर्दै देवताको पूजा गर्ने परम्पराले स्थानीय क्षेत्रमा विशेष उत्साह थपेको छ।

दधिकोटस्थित छुमा गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ। यहाँ गणेशको खट यात्रा गरी पूजा–बलि चढाउने परम्परा रहेको छ। बिहान ४ बजेदेखि नै भक्तजनहरूको लामो भीड देखिएको स्थानीयले बताएका छन्।

मध्यपुरथिमिमा भने चैत मसान्तको रात सुरु भएको चान्हेसिया (रात्रि) जात्रा आज बिहान सम्पन्न भएको छ। बालकुमारीलाई लायकू दरबारबाट विधिपूर्वक ल्याएर मन्दिरमा विराजमान गराउने, विभिन्न देवगणको परिक्रमा गराउने र धिमे बाजासहित टोल–टोल घुमाउने परम्पराले जात्रालाई आकर्षक बनाएको छ।

त्यसैगरी विष्णुवीर र सिद्धिकाली जात्रा पनि थिमिमा सम्पन्न गरिएको छ। विभिन्न टोल परिक्रमा गर्दै देवगणलाई पूजा गरी पुनः मन्दिरमा विराजमान गराउने परम्परा पूरा गरिएको स्थानीयले जानकारी दिएका छन्। अन्त्यमा देवगणलाई सिन्दूर चढाएर आ–आफ्नो स्थानमा राखिएपछि जात्रा विधिवत रूपमा सम्पन्न हुने परम्परा रहिआएको छ।

बिस्केट जात्रासँगै भक्तपुर–थिमि क्षेत्र यतिबेला धार्मिक आस्था, सांस्कृतिक परम्परा र जनउत्साहले भरिएको छ।

प्रतिक्रिया