काठमाडौँ,
सामाजिक सञ्जाल फेसबुकमार्फत १८ वर्षअघि हराएका छोराको खबर पाएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा खुसी छाएको छ। लामो समयदेखि सम्पर्कविहीन रहेका छोरा दीपक नेगी जीवित रहेको जानकारी पाएपछि परिवार पुनर्मिलनको प्रतीक्षामा छ।
आर्थिक अवस्था कमजोर भएका कारण १८ वर्षको उमेरमा रोजगारीका लागि भारत गएका दीपक सुरुमा हिमाञ्चल क्षेत्रमा काम गरिरहेका थिए। त्यही क्रममा बिरामी परेपछि अस्पताल जाने भन्दै निस्किएपछि उनी सम्पर्कविहीन भएका थिए। त्यसपछि लामो समयसम्म परिवारले उनको कुनै खबर पाउन सकेको थिएन।
वर्षौँसम्म खोजी गर्दा पनि कुनै पत्तो नलागेपछि परिवारले दीपकको अवस्थाबारे आशा गुमाउन थालेको थियो। तर हालै भारतको लेह–लद्दाख क्षेत्रमा चौँरीगोठमा काम गर्ने एक नेपालीले उनीसँग भेट गरेपछि घटनाले नयाँ मोड लिएको हो। उक्त व्यक्तिले कुराकानीका क्रममा दीपक कञ्चनपुरको देखतभूलीका भएको बताएका थिए।
त्यसपछि दीपकको नाम, ठेगाना र अवस्थासहितको भिडियो फेसबुकमा अपलोड गरिएको थियो। सामाजिक सञ्जालमार्फत फैलिएको उक्त भिडियो परिवारसम्म पुगेपछि प्रहरीमार्फत वडा कार्यालयसम्म सूचना पुगेको र त्यसपछि परिवार तथा भिडियो अपलोड गर्ने व्यक्तिबीच सम्पर्क स्थापित भएको हो।
मोबाइल स्क्रिनमा १८ वर्षपछि छोराको अनुहार देख्दा परिवारका सदस्य भावुक बनेका थिए। डम्बरबहादुर नेगीले छोराको खबर पाउनु नयाँ जीवन पाएजस्तै भएको बताउँदै छिट्टै भेट्ने आशा व्यक्त गर्नुभयो। आमा मानमती नेगीले पनि विश्वास गर्न गाह्रो भए पनि भिडियो हेरेपछि आफ्नै छोरा भएको पहिचान भएको बताउनुभयो।
परिवारका अनुसार दीपक केही वर्षदेखि मानसिक रूपमा अस्वस्थ रहेका छन्। हाल उनलाई काम गर्ने ठाउँका मालिकले उपचार गराइरहेका छन् भन्ने जानकारी प्राप्त भएको छ। हाल फेसबुक र फोनमार्फत परिवार र दीपकबीच नियमित सम्पर्क भइरहेको छ।
परिवारले उनलाई घर फर्काउने तयारीसमेत थालेको छ। दिल्लीमा कार्यरत उनका दाजु र भाउजुले यसै महिनाको २० तारिखतिर लद्दाख पुगेर दीपकलाई घर ल्याउने योजना बनाइरहेका छन्। दुर्गम क्षेत्र भएकाले आवश्यक खर्च जुटाउन परिवार सरसापट र ऋणको प्रयासमा लागेको छ।
वडाध्यक्ष नवलसिंह रानाका अनुसार प्रहरीमार्फत सूचना प्राप्त भएपछि परिवार र सम्बन्धित व्यक्तिबीच समन्वय गरिएको हो। वडा सदस्य जयसिंह भण्डारीले पनि फेसबुक भिडियोका कारण वर्षौँपछि हराएको व्यक्ति परिवारसँग जोडिनु प्रविधिको सकारात्मक उदाहरण भएको बताउनुभयो।