काठमाडौँ,
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल मा अब नेपाली मूलका विदेशी नागरिक तथा गैरआवासीय नेपाली (एनआरएनए) का लागि आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्क स्थापना गरिने भएको छ। अध्यागमन विभागले यस्तो व्यवस्था गरी विदेशमा रहेका नेपाली मूलका नागरिकसँग नेपालको सम्बन्ध थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।
विभागका अनुसार विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका नागरिक र एनआरएनए समुदायमा नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको आत्मीयता अभिवृद्धि गर्नुका साथै पर्यटन र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले यो निर्णय गरिएको हो। यससम्बन्धमा विभागले आइतबार विमानस्थल कार्यालयलाई आवश्यक व्यवस्थापन गर्न पत्राचार गरिसकेको छ।
लामो समयदेखि यस विषयमा पहल गर्दै आएको एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले सरकारको निर्णयको स्वागत गरेको छ। एएनओका अध्यक्ष डिल्ली अधिकारी द्वारा जारी विज्ञप्तिमा यो कदमले विश्वभर रहेका नेपाली मूलका नागरिकलाई सम्मानित भएको अनुभूति गराउने उल्लेख गरिएको छ।
विज्ञप्तिमा गृहमन्त्री ओमप्रकाश अर्याल तथा गृह प्रशासनप्रति आभार व्यक्त गर्दै यस निर्णयले नेपाली पहिचान र सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।