काठमाडौँ,
नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सञ्चालन गर्ने निर्णय गरेको छ। यसअनुसार महाधिवेशनका तयारी र सदस्यता वितरणसम्बन्धी कार्यक्रम सार्वजनिक गरिएको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान सञ्चालन गरिनेछ। केन्द्रबाट सदस्यता फारम वडातहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ क्षेत्रबाट प्रतिनिधि खटाइने व्यवस्था गरिएको छ।
वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म छ हजार ७४३ वटै वडामा सदस्यता वितरण र अद्यावधिक प्रक्रिया चल्नेछ। प्रत्येक सदस्यले आफू आबद्ध वडाबाट मात्र सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, वैशाख महिनाभरि वडामा एकमहिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।
जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरीको छानबिन गरी जेठ मसान्तसम्म केन्द्रमा पठाउनुपर्नेछ। केन्द्रले आवश्यक छानबिन गरी आगामी असार १५ गतेसम्म सदस्यता टुङ्गो लगाउने समयसीमा तोकेको छ। त्यसैगरी, अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि २०८३ असार मसान्तसम्म तोकिएको छ।
कार्यतालिकाअनुसार भदौ २ गते सबै वडा समितिको अधिवेशन सम्पन्न गरिनेछ र क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ। भदौ ७ गते गाउँ–नगरपालिका अधिवेशन, भदौ १७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र एक मात्र क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन तथा महाधिवेशन गरिनेछ। त्यसैगरी, आगामी असोज २ र ३ गते जिल्ला अधिवेशन सञ्चालन गरिनेछ।
पार्टीले महाधिवेशनका अन्य कार्यक्रम तय गर्नुका साथै विभिन्न १६ वटा निर्णय पनि गरेको छ। यी सबै निर्णय र कार्यतालिका पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।