चैत २५ भित्र ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको आदेश

mayukarajkumari

काठमाडौँ, 

केपी शर्मा ओली
रमेश लेखक लाई चैत २५ गतेभित्र थुनामुक्त गर्न सर्वोच्च अदालत ले परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो। अदालतले अनुसन्धानको प्रक्रिया हिरासत बाहिरबाटै अघि बढाउन सकिने ठहर गर्दै उनीहरूलाई सो मितिभित्र रिहा गर्न निर्देशन दिएको हो।

यसअघि काठमाडौँ जिल्ला अदालत ले दिएको ५ दिनको म्याद चैत २५ गते सकिने भएकाले उक्त अवधिभित्र अनुसन्धान टुंग्याउन वा त्यसपछि थुनामुक्त गर्न सर्वोच्चले स्पष्ट पारेको छ।

अदालतले पक्राउ प्रक्रिया र म्याद थपलाई कानुनसम्मत ठहर गरे पनि उनीहरूको स्वास्थ्य अवस्था र पारिवारिक परिस्थितिलाई ध्यानमा राख्दै थुनामै राखिरहनु आवश्यक नरहेको निष्कर्ष निकालेको हो। आदेशमा दुवै नेता हाल आशौच (जुठो) बारिरहेको र ओली स्वास्थ्य समस्याका कारण शिक्षण अस्पतालमा उपचाररत रहेको उल्लेख गरिएको छ।

यसै प्रकरणमा पक्राउ परेका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई यसअघि नै हाजिर जमानीमा रिहा गरिएको सन्दर्भ उल्लेख गर्दै ओली र लेखकलाई मात्र थुनामा राख्नु न्यायसंगत नहुने पनि अदालतले जनाएको छ।

सर्वोच्चको आदेशअनुसार अब प्रहरीले चैत २५ गतेभित्र अनुसन्धान सकेर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार उनीहरूलाई हाजिर जमानी वा तारिखमा छाड्नुपर्नेछ।

उल्लेखनीय छ, भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको क्षतिको विषयमा अनुसन्धानका लागि दुवै नेतालाई चैत १४ गते पक्राउ गरिएको थियो। उनीहरूको पक्षबाट क्रमशः राधिका शाक्य र यशोदा लेखकले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए।

प्रतिक्रिया