निर्वाचनभर इन्धन अभाव नहुने, अनावश्यक भण्डारण नगर्न आयल निगमको आग्रह

mayukarajkumari

काठमाडौँ, 

नेपाल आयल निगम
ले पेट्रोलियम पदार्थको आयात तथा आपूर्ति नियमित रूपमा भइरहेकाले अनावश्यक रूपमा इन्धन भण्डारण नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। निगमले बजारमा इन्धन अभाव हुने हल्लामा विश्वास नगर्न पनि अनुरोध गरेको छ।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक रूपमा इन्धन संकलन गर्दा आगलागीजस्ता दुर्घटनाको जोखिम बढ्ने भएकाले आवश्यक परिमाणभन्दा बढी इन्धन नकिन्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार हाल पेट्रोलियम पदार्थको आपूर्ति सहज र नियमित रहेको छ र आसन्न निर्वाचन अवधिभर पनि आपूर्ति निरन्तर रहनेछ।

सोमबार जारी सूचनामा पाइपलाइनमार्फत पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेको उल्लेख गर्दै निर्वाचनका बेला समेत पर्याप्त मात्रामा इन्धन उपलब्ध गराइने जनाइएको छ। निगमले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन सबै उपभोक्तालाई संयमित हुन आग्रह गरेको छ।

यसैगरी, जेरी क्यान, ड्रमलगायतका भाँडामा इन्धन भरेर भण्डारण गर्न निषेध गरिएको जानकारी दिँदै निगमले यस्तो कार्यबाट सम्भावित आगजन्य दुर्घटना निम्तिन सक्ने चेतावनी दिएको छ। आगलागीको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र इन्धन खरिद गरी सहयोग गर्न सम्पूर्ण उपभोक्तालाई आग्रह गरिएको छ।

प्रतिक्रिया