बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, मानवअधिकार उल्लङ्घनको चिन्ता

mayukarajkumari

नेपालगञ्ज, 

बाँके कारागारमा निर्धारित क्षमताभन्दा बढी कैदीबन्दी राखिएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनका क्रममा सात सय जनाको क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखिएको तथ्य सार्वजनिक भएको हो।

अनुगमनका क्रममा कैदीबन्दीहरूले अत्यधिक भीडभाडका कारण एउटै कोठामा १२ देखि ४० जनासम्म बस्नुपर्ने अवस्था रहेको बताएका छन्। शौचालय प्रयोग गर्न पालो कुर्नुपर्ने, पर्याप्त स्वास्थ्य सेवा नपाउनु, पठनपाठनको व्यवस्था नहुनुजस्ता समस्याले उनीहरूको दैनिक जीवन प्रभावित भएको जनाइएको छ।

एडभोकेसी फोरम नेपालका क्षेत्रीय संयोजक अधिवक्ता बसन्त गौतमले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिनु गम्भीर मानवअधिकार उल्लङ्घन भएको उल्लेख गर्नुभयो। उहाँले आधारभूत स्वास्थ्य सेवा, सरसफाइ, शौचालय सुविधा, शिक्षा र न्यायिक प्रक्रियामा पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्नेमा जोड दिनुभयो।

अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको पनि निरीक्षण गरेको थियो। सो क्रममा हिरासतमा ६१ जना थुनुवा रहेको र केहीको म्याद थप नगरी अनुसन्धान भइरहेको अवस्था भेटिएको जानकारी दिइएको छ।

टोलीले कारागारभित्र कैदीबन्दीको आधारभूत मानवअधिकार, स्वास्थ्य, सरसफाइ र न्यायिक प्रक्रियामा देखिएका समस्याबारे विस्तृत अध्ययन आवश्यक रहेको औँल्याएको छ। इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले कैदीबन्दीको स्वास्थ्य सेवा, खानाको गुणस्तर र आधारभूत अधिकार सुनिश्चित गर्न सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो।

यसैबीच, नौवस्ता कारागारमा हाल ६९१ कैदीबन्दी रहेका छन्। अनुगमन टोलीले कारागारको क्षमता विस्तार, भीडभाड व्यवस्थापन, स्वास्थ्य बिमा पहुँच, न्यायिक सूचना प्रवाह, शिक्षा तथा धार्मिक अभ्यासको व्यवस्था प्रभावकारी बनाउन तत्काल कदम चाल्नुपर्ने निष्कर्ष निकालेको जनाएको छ।

प्रतिक्रिया