स्विट्जरल्यान्डको जेनेभामा संयुक्त राज्य अमेरिका र इरानबीच इरानको आणविक कार्यक्रमसम्बन्धी विवाद समाधानका लागि भएको दोस्रो चरणको वार्ता सम्पन्न भएको छ। वार्तामा मुख्य “मार्गदर्शक सिद्धान्त”मा समझदारी बनेको इरानी विदेशमन्त्री अब्बास अराघचीले बताएका छन्, तर अन्तिम सहमतिका लागि अझै काम बाँकी रहेको जनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौतामा आउन इच्छुक देखिएको बताएका छन् भने वासिङ्टनले इरानको आणविक गतिविधि र क्षेप्यास्त्र कार्यक्रमबारे समेत छलफल चाहेको संकेत दिएको छ। इरानले भने वार्ताको मुख्य विषय आणविक कार्यक्रम र अमेरिकी आर्थिक प्रतिबन्ध हटाउने विषय भएको स्पष्ट पारेको छ।
हालै मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिती बढाइएपछि तनाव बढेको छ। अमेरिकी युद्धपोतहरू क्षेत्रनजिक तैनाथ गरिएका छन् भने इरानले पनि हर्मुज जलडमरूमध्य क्षेत्रमा सैन्य अभ्यास सञ्चालन गरेको छ।
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकी सैन्य धम्कीको आलोचना गर्दै वार्ताको नतिजा पूर्वनिर्धारित गर्न खोज्नु “गलत” हुने चेतावनी दिएका छन्। यता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सम्झौता सम्भव भए पनि प्रक्रिया कठिन हुने बताएका छन्।
यसअघि ओमानको मध्यस्थतामा भएको पहिलो अप्रत्यक्ष वार्तालाई दुवै पक्षले सकारात्मक सुरुआतका रूपमा लिएका थिए।