रास्वपा सरकारका मन्त्रीहरू किन विवादमा तानिँदैछन्? एकपछि अर्को प्रकरण सार्वजनिक

mayukarajkumari

काठमाडौँ,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरू एकपछि अर्को गर्दै विवादमा तानिन थालेका छन्। सरकार गठन भएको एक महिनाभित्रै तीन मन्त्री विभिन्न आरोप र विवादमा मुछिएका हुन्।

यस क्रममा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहले पद गुमाइसकेका छन् भने स्वास्थ्यमन्त्री निशा मेहतालाई पार्टीले सचेत गराएको छ। त्यस्तै गृहमन्त्री सुधन गुरुङ पनि विभिन्न आर्थिक र नैतिक प्रश्नका कारण विवादमा तानिएका छन्।

साह नियुक्त भएको केही हप्तामै विवादमा परेपछि चैत २६ गते उनलाई पार्टीले फिर्ता बोलाउने निर्णय गरेको थियो। त्यसपछि प्रधानमन्त्री बालेन शाहले उनलाई पदमुक्त गरेका थिए। त्यस्तै स्वास्थ्यमन्त्री मेहतामाथि नियुक्तिसम्बन्धी निर्णयमा अनियमितताको आरोप लागेपछि उनलाई पार्टीले सचेत गराएको हो।

गृहमन्त्री गुरुङ भने सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यापारी दीपक भट्टसँगको व्यवसायिक साझेदारी सार्वजनिक भएपछि विवादमा परेका छन्। भट्टसँग सम्बन्धित कम्पनीमा गुरुङको सेयर लगानी रहेको विवरण बाहिरिएपछि उनीमाथि नैतिकता र पारदर्शिताबारे प्रश्न उठाइएको छ।

सार्वजनिक विवरणअनुसार गुरुङ ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी’ मा सेयरधनी रहेको देखिएको छ, जसमा अनुसन्धानको दायरामा रहेका व्यवसायीहरूको पनि लगानी रहेको बताइएको छ। तर उनले आफ्नो सम्पत्ति विवरणमा उक्त सेयर उल्लेख नगरेको आरोप लागेको छ।

यसैबीच, सरकारमा सहभागी रास्वपा मन्त्रीहरू लगातार विवादमा तानिनु र एकपछि अर्को प्रकरण बाहिरिनुले सरकारभित्रै असन्तोष र दबाब बढ्दै गएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया