काठमाडौँ,
चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हालेको अवसरमा बधाई सन्देश पठाउनुभएको छ।
शुक्रबार पठाइएको सन्देशमा चिनियाँ परराष्ट्रमन्त्रीले नेपाल र चीन परम्परागत रूपमा मैत्रीपूर्ण छिमेकी राष्ट्र भएको उल्लेख गर्दै सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देश सुख–दुःखमा सँगसँगै उभिँदै आएको बताउनुभएको छ।
उहाँले द्विपक्षीय सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा निरन्तर सुदृढ हुँदै आएको पनि स्पष्ट पार्नुभएको छ।
सन्देशमा दुवै देशबीच भएका महत्वपूर्ण सहमतिहरू कार्यान्वयन गर्दै विकास र समृद्धिका लागि दीर्घकालीन मैत्रीमा आधारित चीन–नेपाल रणनीतिक सहकार्य साझेदारीलाई थप उचाइमा पुर्याउन सहकार्य गर्न चीन तयार रहेको उल्लेख गरिएको छ।