नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्यसहित अघि बढ्ने सङ्कल्पको दिन : रामचन्द्र पौडेल

mayukarajkumari

काठमाडौँ,

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षलाई देशको साझा राष्ट्रिय लक्ष्य निर्धारण गर्ने र त्यसलाई प्राप्त गर्न दृढ सङ्कल्प गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ। नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले लक्ष्य प्राप्तिका लागि केवल चाहना मात्र पर्याप्त नहुने भन्दै सङ्कल्प, साधना र अनुशासित प्रयास आवश्यक हुने धारणा व्यक्त गर्नुभयो।

राष्ट्रपतिले निर्धारित लक्ष्य हासिल गर्न विधि, विधान र सुसंस्कृत व्यवहार तथा आचरणलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले मुलुकमा प्रचलित संवत्हरू नेपालको इतिहास, सभ्यता र सामाजिक जीवनका महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै यिनले गौरवमय विगत सम्झाउने र उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरित गर्ने बताउनुभयो।

नववर्षलाई नेपाली परम्पराअनुसार विगतको समीक्षा गर्ने र आगामी दिनका लागि नयाँ सङ्कल्प गर्ने शुभ अवसरका रूपमा लिने गरिएको उल्लेख गर्दै उहाँले जीवनका लक्ष्य निर्धारण गरी तिनलाई पूरा गर्न प्रतिबद्ध रहने संस्कृति रहिआएको बताउनुभयो।

राष्ट्रपतिले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकलाई नयाँ राजनीतिक दिशातर्फ अघि बढाएको उल्लेख गर्दै जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत विधिको शासन, सुशासन, दिगो शान्ति, सामाजिक न्याय र समृद्धिको अपेक्षा व्यक्त गरेको बताउनुभयो।

उहाँले राष्ट्रिय लक्ष्य हासिल गर्न सबैले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति निष्ठावान रहनुपर्ने, नागरिकलाई केन्द्रमा राखेर काम गर्नुपर्ने तथा सुशासन, समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो। साथै, देशको स्वाधीनता र सार्वभौमिकता कुनै पनि परिस्थितिमा कमजोर हुन नदिनुपर्ने उहाँको भनाइ थियो।

राष्ट्रपतिले नयाँ वर्षले राष्ट्रिय एकता, आपसी विश्वास, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउँदै समृद्ध नेपाल निर्माणको दिशामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया