बेवारिसे पेस्तोल खेलाउँदा सर्लाहीमा १५ वर्षीय बालक घाइते

mayukarajkumari

मलङ्गवा (सर्लाही),

सर्लाहीको सदरमुकाम मलङ्गवामा गोली लागेर एक बालक घाइते भएका छन् । मलङ्गवा नगरपालिका–४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम बेवारिसे अवस्थामा फेला परेको पेस्तोल खेलाउने क्रममा घाइते भएका हुन् ।

प्रहरीका अनुसार मलङ्गवा–४ स्थित ‘ढाकाबोर्डर’ क्षेत्रमा भेटिएको पेस्तोल चलाउने क्रममा पड्किँदा बालकको दाहिने हातको पञ्जामा गोली लागेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले घटनाबारे जानकारी दिँदै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको वस्तु खोलेर हेर्दा पेस्तोल भेटिएको बताएका छन् ।

नक्कली हतियार ठानेर चलाउने क्रममा अचानक गोली चलेपछि बालक घाइते भएको प्रहरीले जनाएको छ । घाइते आकाश रामको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ भने उनको अवस्था हाल खतरामुक्त रहेको बताइएको छ ।

यसअघि फागुन ३ गते राति मलङ्गवामै अज्ञात व्यक्तिको गोली प्रहारबाट भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इञ्जिनियर प्रमोदकुमार यादवको हत्या भएको थियो । उक्त घटनामा प्रयोग भएको हतियार हुन सक्ने आशंकामा प्रहरीले पेस्तोलबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया