काठमाडौँ,
विश्वकै ठूलो सम्पत्ति व्यवस्थापन कम्पनी ब्ल्याकरकका प्रमुख ल्यारी फिङ्कले कच्चा तेलको मूल्य प्रति ब्यारेल १५० अमेरिकी डलरसम्म पुगेमा विश्व अर्थतन्त्र मन्दीमा जान सक्ने चेतावनी दिनुभएको छ। बीबीसीसँगको अन्तर्वार्तामा उहाँले विशेषगरी इरान सम्बन्धी तनाव कायमै रहे ऊर्जा मूल्य उच्च रहिरहने र त्यसले विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पार्ने बताउनुभयो।
उहाँका अनुसार मध्यपूर्वको द्वन्द्व समाधान भएर इरान पुनः अन्तर्राष्ट्रिय समुदायमा स्वीकार्य भए तेलको मूल्य घट्न सक्नेछ। तर तनाव जारी रहे दीर्घकालसम्म १०० डलरभन्दा माथि, १५० डलर नजिक तेलको मूल्य कायम रहन सक्ने र यसले गहिरो आर्थिक मन्दी निम्त्याउने जोखिम रहेको उहाँको भनाइ छ।
फिङ्कले बढ्दो ऊर्जा मूल्यलाई “गरिबलाई बढी असर गर्ने कर” का रूपमा व्याख्या गर्दै सस्तो ऊर्जा आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि अत्यावश्यक भएको उल्लेख गर्नुभयो। उहाँले देशहरूले ऊर्जा स्रोतमा विविधता अपनाउँदै परम्परागत स्रोतसँगै सौर्य र पवन ऊर्जामा पनि तीव्र लगानी गर्नुपर्नेमा जोड दिनुभयो।
वित्तीय क्षेत्रबारे बोल्दै उहाँले सन् २००७–०८ जस्तो वित्तीय संकट दोहोरिने सम्भावना नरहेको दाबी गर्नुभयो। हालका वित्तीय संस्थाहरू पहिलेभन्दा धेरै सुरक्षित रहेको र बजारमा देखिएका समस्या सीमित दायरामा रहेको उहाँको भनाइ छ।
कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धमा पनि उहाँले “बबल” नभएको स्पष्ट पार्दै यस क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको बताउनुभयो। एआईले भविष्यमा प्राविधिक तथा सीपमूलक क्षेत्रमा—जस्तै विद्युत् प्राविधिक, प्लम्बिङ (पानी–निकास सम्बन्धी काम गर्ने प्राविधिक) र धातु वेल्डिङ गर्ने कामदार—धेरै रोजगारी सिर्जना गर्ने उहाँको विश्वास छ। साथै, सबैले विश्वविद्यालय शिक्षा मात्रै लिने प्रवृत्ति सन्तुलनमा ल्याएर प्राविधिक शिक्षामा पनि ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो।