मिथिलाञ्चलमा चैती छठको रौनक, श्रद्धालुको घाटमा भीड

mayukarajkumari

जलेश्वर (महोत्तरी),

महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत् चैती छठ पर्व सुरु भएको छ। चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने यो पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लामा विशेष उत्साहका साथ मनाइँदैछ।

चैती छठ विशेषगरी नदी, पोखरी, तलाउ तथा जलाशय किनारमा मनाइने गरिन्छ। महोत्तरीका जलेश्वर, मटिहानी, गौशाला, सम्सी, बर्दिबासलगायत क्षेत्रका साथै बिग्ही, रातो मरहा, जङ्गहा र अंकुसी नदी किनारमा श्रद्धालुहरूको भीड लाग्न थालेको छ। धार्मिक आस्थासहित सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको यो पर्वमा हिन्दू मात्र नभई मुस्लिम समुदायको समेत सहभागिता रहने गरेको पाइन्छ।

जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरका पुजारी कामेश्वर पाठकका अनुसार छठ पर्वले सत्य, अहिंसा र सबै जीवप्रति करुणा राख्ने भावना विकास गर्न प्रेरित गर्दछ। सूर्य उपासनामा आधारित यो पर्वको विशेषता भनेको अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ अर्पण गर्नु हो। पारिवारिक सुख, शान्ति, समृद्धि तथा स्वास्थ्यलाभको कामनासहित भक्तजनले व्रत बस्ने गर्छन्।

चार दिनसम्म चल्ने यस पर्वको पहिलो दिन ‘नहा–खा’ का रूपमा मनाइन्छ, जसमा व्रतीहरूले नुहाएर शुद्ध भोजन ग्रहण गर्छन्। दोस्रो दिन ‘खर्ना’ मा दिनभरि निराहार उपवास बसेपछि साँझ पूजा गरी प्रसाद ग्रहण गर्ने चलन छ। तेस्रो दिन षष्ठीमा विशेष पकवान तयार गरी साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने अन्तिम दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी पर्वको समापन गरिन्छ।

छठ पर्वमा ठकुवा, भुसवा, खजुरिया, पेरुकिया जस्ता परम्परागत मिठाईका साथै फलफूल, तरकारी र अन्य सामग्री अर्पण गरिन्छ। परम्पराअनुसार अर्घमा प्रयोग हुने सामग्रीको सङ्ख्या ७० पुर्‍याउने मान्यता रहेको छ, तर आर्थिक रूपमा सक्षम नभएकाहरूले सामान्य सामग्री चढाए पनि देवता प्रसन्न हुने जनविश्वास छ।

धार्मिक ग्रन्थअनुसार छठ पर्वको परम्परा प्राचीन कालदेखि चलिआएको मानिन्छ। महाभारतकालमा पाण्डवहरूले सूर्यदेवको आराधना गरेको उल्लेख पाइन्छ भने सूर्य पुराणमा माता अनुसुइयाले पहिलोपटक छठ व्रत गरेको कथन उल्लेख छ। यिनै धार्मिक मान्यता र परम्पराका आधारमा आजसम्म छठ पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै आएको छ।

प्रतिक्रिया