बागमती प्रदेशले नौ महिनामा २७ अर्ब ९३ करोड राजस्व सङ्कलन

mayukarajkumari

काठमाडौँ,

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा कुल २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो वार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशत हो।

प्रदेश सरकारका अनुसार घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर राजस्व सङ्कलनका प्रमुख स्रोत हुन्। आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्यालका अनुसार साउनदेखि चैतसम्मको अवधिमा बाँडफाँडसहित कुल ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा १७ अर्ब एक करोड दुई लाख ६३ हजार रुपैयाँ अर्थात् ५५ दशमलव ०७ प्रतिशत प्राप्त भएको छ।

चालु आवमा घरजग्गा रजिष्ट्रेशनबाट सात अर्ब ७० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा नौ महिनामा तीन अर्ब ५२ करोड ६२ लाख ५३ हजार रुपैयाँ सङ्कलन भएको छ। त्यस्तै सवारीसाधन जाँचपास, रुट पर्मिट, चालक अनुमतिपत्र तथा सवारी कर शीर्षकमा आठ अर्ब २५ करोड रुपैयाँ लक्ष्य राखिएकोमा पाँच अर्ब छ करोड ५२ लाख ६२ हजार रुपैयाँ सङ्कलन भएको मन्त्रालयले जनाएको छ।

मूल्य अभिवृद्धि कर (भ्याट) बाँडफाँडबाट आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा पाँच अर्ब ६९ करोड छ लाख ७२ हजार रुपैयाँ सङ्कलन भएको छ। त्यस्तै अन्तःशुल्क करतर्फ चार अर्ब तीन करोड ७९ लाख नौ हजार रुपैयाँ लक्ष्य रहेकामा एक अर्ब ९९ करोड १५ लाख ५६ हजार रुपैयाँ प्राप्त भएको छ।

सङ्घीय सरकारबाट प्राप्त समानीकरण अनुदानतर्फ १४ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ अनुमान गरिएकामा नौ महिनामा सात अर्ब ९४ करोड २७ लाख ५६ हजार रुपैयाँ प्राप्त भएको छ। प्रदेशको आन्तरिक स्रोतबाट चार अर्ब ७७ करोड ७४ लाख २५ हजार रुपैयाँ उठ्ने अनुमान रहेकामा दुई अर्ब ८५ करोड ८१ लाख ५६ हजार रुपैयाँ सङ्कलन भएको मन्त्रालयले जनाएको छ।

राजस्व लक्ष्य अनुसार संकलन हुन नसक्नुमा आर्थिक तरलता, घरजग्गा तथा सवारीसाधन कारोबारमा आएको कमी, साथै गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा राजस्व संकलन निकायमा पुगेको क्षति मुख्य कारण रहेको बताइएको छ।

प्रतिक्रिया