महिलालाई आत्मनिर्भर बनाउँदै देवघाटको महिला सहकारीद्वारा साप्ताहिक दुग्ध मेला सञ्चालन

mayukarajkumari

काठमाडौँ, 

देवघाट गाउँपालिका–५ मा रहेको चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित दुग्धजन्य उत्पादनको प्रवर्द्धन र बिक्रीका लागि साप्ताहिक मेला सञ्चालन सुरु गरेको छ। सहकारीले सदस्य महिलाहरूको आयआर्जन वृद्धि र आर्थिक सशक्तीकरणका लागि प्रत्येक साताको शुक्रबार मेला आयोजना गर्न थालेको हो।

गाउँपालिकाको एकमात्र महिला सहकारीका रूपमा रहेको यस संस्थाले सदस्यहरूद्वारा उत्पादन गरिएका दुग्धजन्य पदार्थ तथा कृषिउपजको बजार प्रवर्द्धनमा विशेष ध्यान दिएको छ। सहकारीका अध्यक्ष सावित्री न्यौपानेका अनुसार मेलामार्फत दूध, दही, पनिरलगायतका वस्तुहरूको बिक्री गर्दै आइएको छ।

सहकारीकी व्यवस्थापक सङ्गीता ओझा भुर्तेलले मेलाका दिन विभिन्न दुग्धजन्य उत्पादनमा विशेष छुट प्रदान गरिने जानकारी दिनुभयो। मेलामा दूध, दही, पनिर, कुल्फी, घ्यु, मोही, लस्सी, पनिर मःम, पनिर पकौडा, घ्यूमा पकाइएको सेलरोटी, दही पुरी तथा स्थानीय अर्गानिक कृषिउपज बिक्री गरिँदै आएको छ।

उक्त सहकारीले बचत तथा ऋण कारोबारसँगै दूध सङ्कलन, दुग्धजन्य वस्तुको उत्पादन, डेरी सञ्चालन, पशुपालन, तरकारीखेती तथा नगदेबाली खेतीमार्फत सदस्यहरूलाई आयआर्जनमा आबद्ध गराउँदै आएको छ। हाल सहकारीमा दैनिक ६०० लिटरभन्दा बढी दूध सङ्कलन हुँदै आएको छ, जसलाई आफ्नै उद्योगमार्फत विभिन्न परिकारमा रूपान्तरण गरी बिक्री गरिन्छ।

सहकारीमा हाल ८१९ जना महिला शेयर सदस्य रहेका छन्, जसमा देवघाटका वडा नम्बर ५, ४ र १ का महिलाहरू आबद्ध छन्। अधिकांश सदस्य पशुपालनमा संलग्न छन् र उनीहरूले उत्पादन गरेको दूध सहकारीले खरिद गरी बजारमा आपूर्ति गर्दै आएको छ।

चक्रवर्ती डेरी उद्योगमार्फत उत्पादित दुग्धजन्य वस्तुहरू चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौँडा, कावासोती र गैँडाकोटलगायतका बजारमा बिक्री हुँदै आएका छन्। सहकारीको भवनबाट पनि उल्लेख्य मात्रामा बिक्री हुने गरेको छ। हाल उक्त उद्योगमार्फत मासिक करिब १० लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ।

सहकारीलाई देवघाट गाउँपालिकाबाट दूधमा प्रोत्साहन रकम उपलब्ध हुँदै आएको छ भने उत्पादित वस्तुको बजारीकरणमा हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको छ। यस सहकारीले ग्रामीण महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतिक्रिया