काठमाडौँ,
खानी तथा भूगर्भ विभाग ले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थर लगायत १६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति प्रदान गरेको छ। विभागले स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण तथा उपयोगमार्फत खनिजजन्य उद्योगको विकास गरी देशमा औद्योगिक उत्पादन र आर्थिक वृद्धि गर्ने उद्देश्यले अनुमति दिएको जानकारी दिइएको छ।
गत आर्थिक वर्षसम्ममा विभागले अनुमति दिएका खनिजजन्य वस्तुहरूमा टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट, तामा लगायतका खानी रहेका छन्। खानी अनुमतिपत्र प्रदान गर्ने नियमअनुसार प्रस्ताव अध्ययन गरी प्रक्रिया पूरा भएका निजी तथा स्वदेशमा दर्ता भएका अन्तर्राष्ट्रिय कम्पनीसमेत १६६ संस्थालाई अनुमति प्रदान गरिएको सूचना अधिकारी नारायण बाँस्कोटा ले जानकारी दिनुभयो।
विभागले खानी अनुमति प्रदान गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन, दर्ता तथा उत्पादनको अनुपातमा राजस्व सङ्कलन, स्थानीय समुदायको लाभ सुनिश्चित गर्ने सर्तहरू राख्ने गरेको छ। यसैबीच करिब १०० चुनढुङ्गा खानीले उत्खननको इजाजत प्राप्त गरेका छन्।
सूचना अधिकारी बाँस्कोटाका अनुसार, भौगोलिक विकटता, यातायात अभाव, पुँजी र आधुनिक प्रविधिको कमी, पूर्वाधारको अभाव तथा लगानीमैत्री वातावरण नबन्नुले देशको खनिज सम्पदाको आवश्यक विकासमा अवरोध पुगेको छ। धेरै खनिज पदार्थ दुर्गम र भिरालो स्थानमा रहेका कारण उत्खनन र ढुवानी पनि चुनौतीपूर्ण बनेको बताइएको छ।