काठमाडौँ,
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक मा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घ को शान्ति मिसनअन्तर्गत कार्यरत सैनिकहरूलाई नियमित रोटेशनअनुसार परिवर्तन गरिएको हो।
नेपाली सेनाका अनुसार रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फा र सैनिक प्रहरी युनिटको दशौँ डफ्फालाई प्रतिस्थापन गर्न श्री कालीबहादुर गणको आठौँ डफ्फा तथा सैनिक प्रहरी युनिटको एघारौँ डफ्फाका १७९ जना शान्ति सैनिक बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन्। पहिलो टोली मिसन क्षेत्रमा पुगिसकेको जनाइएको छ।
त्यसैगरी उक्त मिसनमा आफ्नो कार्यकाल पूरा गरेका २११ जना नेपाली शान्ति सैनिक स्वदेश फर्किसकेका छन्। हाल सोही मिसनमा नेपाली सेनाका एक हजार १०७ जना शान्ति सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ।