कैलाली भन्सारको आठ महिनामा रु ५ अर्ब ४० करोड राजस्व सङ्कलन, लक्ष्यभन्दा पछि

mayukarajkumari

धनगढी,

कैलाली भन्सार कार्यालय
धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा रु पाँच अर्ब ४० करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ। साउनदेखि फागुन मसान्तसम्मको अवधिमा सङ्कलित यो राजस्व वार्षिक लक्ष्यको ५५ दशमलव ६७ प्रतिशत रहेको कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिना ले जानकारी दिनुभयो। चालु आर्थिक वर्षका लागि कार्यालयले रु नौ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ।

राजस्व संरचनातर्फ हेर्दा भन्सार महसुलबाट रु दुई अर्ब ८४ लाख, मूल्य अभिवृद्धि करबाट रु दुई अर्ब सात करोड ५९ लाख, अन्तःशुल्कबाट रु १० करोड ५६ लाख र अन्य शीर्षकबाट रु एक अर्ब २१ करोड ६६ लाख सङ्कलन भएको छ। यद्यपि, चालु आर्थिक वर्षका कुनै पनि महिनामा कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन।

महिनागत विवरणअनुसार साउनमा रु ७१ करोड ६१ लाख लक्ष्य रहेकामा रु ५७ करोड ८० लाख, भदौमा रु ७४ करोड २१ लाख लक्ष्यमा रु ५३ करोड ७० लाख, असोजमा रु ७६ करोड ७७ लाख लक्ष्यमा रु ६७ करोड ७८ लाख र कात्तिकमा रु ८४ करोड ६७ लाख लक्ष्यमा रु ७२ करोड ५४ लाख मात्रै सङ्कलन भएको थियो। त्यसैगरी मङ्सिरमा रु ७८ करोड ३३ लाख लक्ष्यमा रु ६८ करोड ९१ लाख, पुसमा रु ८१ करोड २५ लाख लक्ष्यमा रु ७४ करोड ६५ लाख, माघमा रु ७६ करोड नौ लाख लक्ष्यमा रु ६८ करोड ८२ लाख तथा फागुनमा रु ७७ करोड १४ लाख लक्ष्यमा रु ७६ करोड ४४ लाख मात्रै राजस्व सङ्कलन भएको जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा पनि कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको थिएन। उक्त वर्ष रु ११ अर्ब १६ करोड २६ लाख लक्ष्य रहेकामा रु आठ अर्ब ६६ करोड ९८ लाख मात्रै राजस्व सङ्कलन भएको थियो, जुन वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत मात्र हो।

प्रतिक्रिया