इरानको प्रतिकारात्मक आक्रमण : दुबईको लक्जरी होटलमा आगलागी, मध्यपूर्वभर तनाव चर्कियो

mayukarajkumari

दुबई,

मध्यपूर्व क्षेत्रमा तनाव तीव्र बन्दै जाँदा इरानले संयुक्त राज्य अमेरिकाइजरायलको संयुक्त आक्रमणको प्रतिकारस्वरूप विभिन्न देशतर्फ मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ । यस क्रममा दुबईस्थित पाँचतारे फेयरमन्ट द पाम होटलमा आगलागी भएको भिडियो सार्वजनिक भएको छ । घटनामा कम्तीमा चार जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

संयुक्त अरब इमिरेट्सका अधिकारीहरूका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पनि एक घटनामा केही व्यक्ति घाइते भएका छन् र संरचनामा सामान्य क्षति पुगेको छ । युएईले आफ्ना हवाई प्रतिरक्षा प्रणालीले धेरै मिसाइल तथा ड्रोन खसालेको दाबी गर्दै यसलाई राष्ट्रिय सार्वभौमिकतामाथिको स्पष्ट आक्रमण भनेको छ ।

यसैबीच कतार, बहराइन, जोर्डनकुवेतले पनि आफ्नातर्फ प्रहार गरिएका मिसाइलहरू अवरोध गरेको बताएका छन् । बहराइनस्थित अमेरिकी नौसैनिक अड्डा आसपास धुवाँ देखिएको तथा कतारको अल–उदेइद एयरबेस लक्षित आक्रमण प्रयास विफल पारिएको जनाइएको छ । केही स्थानमा ड्रोन आक्रमण र अवशेष खस्दा सीमित क्षति तथा सामान्य घाइते भएको विवरण सार्वजनिक गरिएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले “ट्रुथफुल प्रामिस ४” नामक अभियानअन्तर्गत अमेरिकी सैन्य अड्डा र सम्पत्तिलाई निशाना बनाइएको जनाएको छ । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई शासनविरुद्ध उभिन आह्वान गरेको समाचारमा उल्लेख छ ।

तनाव बढ्दै जाँदा विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज जलडमरूमध्य बन्द हुन सक्ने चेतावनीसमेत दिइएको छ । उक्त मार्ग अवरुद्ध भए विश्व व्यापार र ऊर्जा बजारमा ठूलो प्रभाव पर्ने विश्लेषकहरूले बताएका छन् । क्षेत्रभर साइरन, विस्फोट र हवाई प्रतिरक्षा सक्रिय रहँदा मध्यपूर्वको सुरक्षा अवस्था झन् जटिल बन्दै गएको छ ।

प्रतिक्रिया