रोजगारदातालाई न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा व्यवस्था पालना गर्न मन्त्रालयको अनुरोध

mayukarajkumari

काठमाडौं, 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
ले सम्पूर्ण रोजगारदातालाई श्रम ऐन, २०७४ तथा प्रचलित कानुनअनुसार न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न अनुरोध गरेको छ।

मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि ऐन विपरीत न्यूनतम पारिश्रमिक र अन्य सुविधा नदिएको भेटिएमा प्रचलित कानुनअनुसार कारबाही हुने छ। साथै, कानुनको स्वतःस्फूर्त परिपालना गर्न सबै प्रतिष्ठान, संस्था र सरोकारवालालाई आग्रह गरिएको छ।

श्रम ऐन, २०७४ को दफा १८ को उपदफा (३) अनुसार तालिमीको रूपमा काममा लगाइएका व्यक्तिलाई रोजगारदाताले न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष र बीमा जस्ता सामाजिक सुरक्षा सुविधा दिनुपर्ने कानूनी व्यवस्था स्पष्ट गरिएको छ।

मन्त्रालयका अनुसार विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा तालिमी स्वास्थ्यकर्मी तथा नर्सिङ्ग स्टाफ, निजी र संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी, साथै अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिहरूले तोकिएकै न्यूनतम पारिश्रमिक र सुविधाबाट वञ्चित हुने उजुरी र गुनासोहरू प्राप्त भएका छन्। मन्त्रालयले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिक्रिया