काठमाडौँ,
नेकपा (एमाले)ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले दुवै नेतालाई अविलम्ब रिहा गर्न सरकारसँग माग गर्ने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो।
बैठकले उनीहरूलाई पक्राउ गरिएको घटनाको निन्दा गर्दै उक्त कदम लोकतन्त्र र कानूनी शासनको मर्मविपरीत रहेको दाबी गरेको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको सिफारिसका आधारमा आज बिहान अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरिएको थियो।
यसैगरी, एमालेले जेनजी आन्दोलनको निष्पक्ष तथा न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न समेत माग गरेको छ।