काठमाडौँ,
वराहक्षेत्र, सुनसरीमा कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ। महोत्सव यही चैत २५ गतेदेखि २७ गतेसम्म ठाकुरबारी १२ नम्बर रिसोर्ट, वराहक्षेत्र मा सञ्चालन हुने जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।
महोत्सवको मुख्य उद्देश्य सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु, स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार गर्नु र लोपोन्मुख कला संस्कृतिको संरक्षण गर्नु रहेको अध्यक्ष अङ्गत राई ले जानकारी दिनुभयो।
कार्यक्रम अवधिभर मौलिक सांस्कृतिक नृत्य र झाँकी प्रदर्शन हुनेछ। सहसंयोजक भविश श्रेष्ठ का अनुसार कोशी टप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु तथा चराहरूको अवलोकन, रामधुनी मन्दिर दर्शन र बोराबाँधमा सूर्यास्त अवलोकन गराइने कार्यक्रम रहेको छ।
साँझमा लाखे नाच र धान नाच प्रस्तुत गरिनेछ। महोत्सवको अन्तिम दिन चैत २७ गते आन्तरिक तथा बाह्य पर्यटकलाई वराहक्षेत्र मन्दिर दर्शन गराइनेछ भने त्यसपछि बोराबाँधसम्म ¥याफ्टिङ, जेट बोट, एटिभी राइडिङ, नौका सयर तथा बगर खेलकुदलगायत गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ।
महोत्सवमा नेपालका विभिन्न स्थानका साथै भारत र अन्य तेस्रो मुलुकका पर्यटक र विशिष्ट अतिथिको सहभागिता रहनेछ। आगन्तुकहरूको लागि स्थानीय अर्गानिक परिकारको व्यवस्था समेत गरिने जानकारी आयोजकले दिएको छ।
पर्यटन कार्यालय धरान का अधिकृत केशव फुयाँलले यस्ता कार्यक्रमहरूले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र कोशी किनारको पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।