काठमाडौँ,
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसअघि स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सुरु भएको छ। निर्वाचन आयोग ले मङ्सिर ६ गतेदेखि उक्त कार्य रोकिएकोमा चैत १८ गते बसेको आयोगको बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आजदेखि देशभर मतदाता नामावली सङ्कलन प्रक्रिया औपचारिक रूपमा पुनः सुरु गरिएको छ। राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो विवरणका आधारमा अनलाइन प्रणालीमार्फत सजिलै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।
राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नागरिकले भने आयोगको ‘प्रि–इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्नेछ। त्यसपछि फोटो, औँठाछापसहितको जैविक विवरण दिनका लागि सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने प्रावधान रहेको छ।
त्यस्तै, मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइका विवरण अद्यावधिक गर्ने लगायतका कार्य पनि अनलाइन माध्यमबाटै गर्न सकिने व्यवस्था गरिएको छ। नाम, थर, ठेगाना सुधार गर्ने, एकै वडाभित्र विभिन्न मतदानस्थल भएमा पायक पर्ने स्थानमा नाम सार्ने तथा नागरिकताअनुसार विवरण सच्याउने सुविधा पनि उपलब्ध गराइएको छ।
आयोगले सम्पूर्ण योग्य नागरिकलाई मतदाता नामावली सङ्कलन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।