गुल्मी–बागलुङ जोड्ने १३२ केभी प्रसारणलाइन परीक्षणमा, विद्युत् आपूर्ति सुधार हुने अपेक्षा

mayukarajkumari

नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासदेखि बागलुङको बुर्तिबाङसम्म निर्माण सम्पन्न गरिएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ। ‘बुर्तिबाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो।

रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेसनबाट ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेसनसम्म १३२ हजार भोल्ट क्षमतामा विद्युत् परीक्षण तथा प्रवाह गरिने प्राधिकरणले जनाएको छ। प्रसारणलाइनको दुई दिनसम्म परीक्षण सम्पन्न भएपछि मात्र नियमित सञ्चालनमा ल्याइने आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो।

प्राधिकरणका अनुसार प्रसारणलाइन गुल्मीको रेसुङ्गा नगरपालिका–३, ४ र ५, इस्मा गाउँपालिका–२ तथा मुसिकोट नगरपालिका–१, २ र ३ हुँदै बागलुङको बडिगाड गाउँपालिका–२, ५, ६ र ७ तथा ढोरपाटन नगरपालिका–२ बुर्तिबाङसम्म विस्तार गरिएको छ।

उच्च भोल्टेजका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई प्रसारणलाइनको टावरमा नचढ्न, तार वा संरचना नछुन, टावर आसपास नजान तथा घरेलु जनावर खुला नछाड्न आग्रह गरेको छ। खतराको संकेत गरिएका संरचनाबाट टाढा रहन र बालबालिकालाई सचेत गराउन पनि अनुरोध गरिएको छ। परीक्षणका क्रममा झिल्का देखिए वा जोखिम महसुस भएमा नजिकको प्रहरी चौकी वा प्राधिकरण कार्यालयमा जानकारी गराउन भनिएको छ।

प्राधिकरणका अनुसार करिब रु चार अर्ब ५० करोडभन्दा बढी लागतमा आयोजना निर्माण सम्पन्न भएको हो। आयोजना सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्ति थप विश्वसनीय र सुदृढ हुने अपेक्षा गरिएको छ।

कपिलवस्तुको मोतिपुर सवस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र मुसिकोटको पौदीअमराईमार्फत बुर्तिबाङसम्म विद्युत् प्रवाह हुने व्यवस्था मिलाइएको आयोजना प्रमुख चौधरीले बताउनुभयो। यसअघि बुटवलस्थित सवस्टेसनबाट लामो दूरीमा विद्युत् आपूर्ति गर्दा पटक–पटक सेवा अवरुद्ध हुने समस्या रहेकामा नयाँ प्रसारणलाइन सञ्चालनपछि ती समस्या समाधान हुने विश्वास गरिएको छ।

प्रतिक्रिया