झापा,
कोशी प्रदेश सरकार भारतका सीमावर्ती राज्य पश्चिम बङ्गाल र बिहारका पर्यटकलाई आकर्षित गर्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमा सक्रिय भएको जनाएको छ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले विर्तामोडमा आजदेखि सुरु भएको दुई दिने कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सवको उद्घाटन गर्दै नेपाल र भारतका सीमावर्ती क्षेत्रबीच सांस्कृतिक समानता र जनस्तरको आत्मीय सम्बन्धलाई पर्यटनसँग जोड्ने समय आएको बताउनुभयो।
उहाँले प्रदेश सरकारले पर्यटन क्षेत्रलाई दीगो आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउँदै मुन्धुम पदमार्गसहित चारवटा पदमार्ग निर्माण गरेको जानकारी दिनुभयो। पश्चिम बङ्गाल र बिहारबाट ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउने सम्भावना रहेको उहाँको भनाइ थियो।
उत्सवमा नेपालका १८ र भारतका १२ गरी कुल ३० वटा स्टल राखिएका छन्। होटल, होमस्टे, ट्राभल गाइड, हस्तकला र अर्गानिक खाद्य सामग्रीसम्बन्धी स्टलमार्फत दुवै देशका पर्यटकीय गन्तव्य र विशेषताबारे जानकारी दिइएको होटल सङ्घ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले बताउनुभयो।
उत्सवमा सहभागी हुन भारतको पश्चिम बङ्गालबाट व्यावसायिक तथा सांस्कृतिक टोलीसमेत विर्तामोड आइपुगेको छ। उद्घाटन समारोहमा कलाकारहरूले भरतनाट्यम शैलीमा शास्त्रीय नृत्य प्रस्तुत गरेका थिए। साथै ताप्लेजुङ र पाँचथर क्षेत्रका चराको अध्ययनमा आधारित संरक्षण अभियन्ता देवेन्द्र खरेलद्वारा निर्माण गरिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।
कार्यक्रममा कोशी प्रदेश पर्यटन वर्ष निर्देशन समितिका सहसंयोजक भवेश श्रेष्ठ तथा पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडालगायतले निजी क्षेत्रसँगको सहकार्यमार्फत पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारको प्रयासको प्रशंसा गरेका थिए।