रुकुम पूर्व
नेपाली कम्युनिस्ट पार्टीका संयोजकसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई लक्षित गर्दै रुकुम पूर्व अन्तर्गत भूमे गाउँपालिका–२, खाबाङ बगरमा आयोजित ३०औँ जनयुद्ध दिवस कार्यक्रममा सहभागिता जनाउनुभएको थियो। उक्त अवसरमा जनयुद्धका क्रममा शहीद भएका तथा बेपत्ता पारिएका २ सय ५२ जनाका परिवारलाई सम्मान गरिएको हो। कार्यक्रममा स्थानीय बासिन्दा, पार्टी कार्यकर्ता तथा शहीद परिवारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका क्रममा बलिदान दिने शहीदहरूको योगदान ऐतिहासिक रहेको उल्लेख गर्नुभयो। उहाँले शहीद तथा बेपत्ता परिवारप्रति राज्यले अझै थप जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनीहरूको सम्मान, पहिचान र अधिकार सुनिश्चित गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। जनताको परिवर्तनको चाहना र संघर्षकै परिणामस्वरूप देशमा राजनीतिक रूपान्तरण सम्भव भएको उहाँको भनाइ थियो।
रुकुम क्षेत्रलाई नेपालमा सञ्चालन गरिएको जनयुद्धको महत्वपूर्ण केन्द्रका रूपमा लिने गरिन्छ। यही क्षेत्रबाट जनआन्दोलन र शान्ति प्रक्रियातर्फको यात्रा अघि बढेको मानिन्छ। जनयुद्धका विभिन्न रणनीतिक योजना तथा महत्वपूर्ण निर्णयहरू लिन आयोजित बैठकहरू पनि यसै क्षेत्रमा सम्पन्न भएका इतिहासमा उल्लेख पाइन्छ।
नेपाली कम्युनिस्ट पार्टीले रुकुमलाई आफ्नो प्रमुख आधार इलाकाका रूपमा विकास गर्दै संगठन विस्तार र राजनीतिक गतिविधि सञ्चालन गर्दै आएको छ। स्थानीय स्तरमा पार्टीको प्रभाव बलियो रहँदै आएको र जनयुद्धकालीन राजनीतिक विरासत अझै पनि यहाँको सामाजिक तथा राजनीतिक जीवनमा प्रभावशाली रूपमा देखिने गरिएको बताइन्छ।