भोलि मतदानः सार्वजनिक बिदामा पनि वित्तीय सेवा सुचारु रहने आयोगको तयारी

mayukarajkumari

काठमाडौँ,,

प्रतिनिधिसभा सदस्यको आमनिर्वाचन हुन अब एक दिन मात्रै बाँकी रहँदा निर्वाचन आयोगले सार्वजनिक बिदाका दिन पनि आवश्यक वित्तीय सेवा सञ्चालन हुने व्यवस्था मिलाइएको जनाएको छ । निर्वाचनलाई सहज, व्यवस्थित र पारदर्शी बनाउन बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखाहरू नियमित रूपमा सञ्चालन हुने प्रबन्ध गरिएको आयोगले स्पष्ट पारेको छ ।

यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदाका कारण वित्तीय पक्षका महत्वपूर्ण कार्य र सेवामा अवरोध नहोस् भन्ने उद्देश्यले आयोगको निर्णय तथा अनुरोधअनुसार महालेखा नियन्त्रक कार्यालयमार्फत राजस्व दाखिलाको विशेष व्यवस्था मिलाइएको जनाइएको छ ।

त्यसैगरी, कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निर्वाचनसम्बन्धी कामको भुक्तानी निकासा, राजस्व दाखिला लगायतका सेवा सञ्चालन गराइएको छ । उक्त कार्य प्रभावकारी बनाउन प्राविधिक जनशक्ति खटाई प्रणाली निर्वाध रूपमा सञ्चालन हुने सुनिश्चित गरिएको आयोगले जनाएको छ ।

यस्तै, नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसारसम्बन्धी बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थामार्फत रकम दाखिला तथा भुक्तानीलगायत वित्तीय सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । आवश्यक भुक्तानी प्रणाली र अन्य प्रविधिगत संयन्त्रहरू पनि निरन्तर सञ्चालनमा रहने बताइएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदान हुने दिन मुलुकभर एकैपटक मतदान हुने भएकाले सो दिन नियमित वित्तीय तथा बैंकिङ सेवा सञ्चालन नहुनेछ । तथापि, फागुन २२ गतेदेखि भने यस्ता सेवा पूर्ववत् रूपमा सञ्चालनमा आउनेछन् ।

प्रतिक्रिया