चितवन
चितवनस्थित भरतपुर विमानस्थलमा हवाई इन्धन ‘रिफिलिङ’ सेवा सुरु गरिएको छ। नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले भरतपुरबाट हवाई यात्रु तथा उडानको चाप बढ्दै गएकाले इन्धन रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। हवाई इन्धन अभावका कारण यात्रु तथा विमानलाई असुविधा नहोस् भन्ने उद्देश्यले सेवा सुरु गरिएको उहाँको भनाइ छ।
हाल भरतपुर विमानस्थलबाट दैनिक आठवटा उडान हुँदै आएको उल्लेख गर्दै आवश्यकताअनुसार हवाई इन्धन भर्न सकिने गरी व्यवस्था मिलाइएको निगमले जनाएको छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार विमानस्थलमा दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ, जहाँबाट दैनिक करिब २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने क्षमता रहेको छ। प्रारम्भिक चरणमा सिनामङ्गलस्थित निगम कार्यालयका छ जना कर्मचारीमार्फत सेवा सञ्चालन गरिएको छ।
हाल भरतपुर–काठमाडौँ–भरतपुर नियमित उडानका साथै आंशिक रूपमा भरतपुर–पोखरा–भरतपुर उडान सञ्चालनमा रहेको छ। बुद्ध एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिलिङ सेवा सुरु भएपछि विमान सञ्चालन सहज भएको बताउँदै अब जहाजले काठमाडौँबाट अतिरिक्त इन्धन बोकेर आउनु नपर्ने र थप यात्रु ल्याउन सकिने बताउनुभयो।