खोटाङ,
दिक्तेल बजार स्थित भानुचोकमा रहेको राष्ट्रिय विभूति भानुभक्त आचार्य को सालिक पुनर्निर्माण गरिएको छ। कोशी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत सालिक पुनर्निर्माण कार्य सम्पन्न भएको हो।
भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालका अनुसार भानुभक्तको अर्धकदको प्रतिमा पहिलेकै स्थानमा राखिएको छ भने ठूलो आकारको मूर्ति सरोकारवालाले खरिद गरेर राख्ने सहमति भएको छ। सालिक पुनर्निर्माणसँगै आसपासका क्षेत्रमा टाइल जडान, रङरोगन, प्रकाश व्यवस्थापन, बगैँचा निर्माण तथा चोकमा साङ्केतिक चिह्न राख्ने कामसमेत गरिएको छ। साथै आदिकवि भानुभक्तका कविताका केही हरफ समावेश गरी चोकको सौन्दर्य अभिवृद्धि गरिएको छ।
यसै परियोजनाअन्तर्गत जिल्ला प्रहरी कार्यालयको प्रवेशद्वारदेखि भानुचोक हुँदै लोक सेवा आयोग को कार्यालय तथा त्यहाँदेखि नेपाली कांग्रेस को पार्टी कार्यालयसम्म सडक सुधार तथा निर्माण कार्य पनि गरिएको छ। साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ भित्रका केही सडक निर्माणका कामसमेत सम्पन्न भएका छन्।
भानुचोकमा रहेको सालिक लामो समयदेखि जीर्ण र अव्यवस्थित अवस्थामा रहेकाले व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यले गत कात्तिक २ गते बोलपत्र आह्वान गरी पुनर्निर्माण प्रक्रिया अघि बढाइएको थियो। सौन्दर्यकरणको काम सम्पन्न भएपछि दिक्तेल बजारको संरचनागत व्यवस्थापन सुधार हुनुका साथै यसको ऐतिहासिक, साहित्यिक र पर्यटकीय महत्त्व थप उजागर भएको बताइएको छ।
यससँगै दिक्तेल बजारको सडक ढलान कार्य पनि सम्पन्न भएको छ। विसं २०७६ मा सुरु गरिएको सडक ढलान सात वर्षपछि पूरा भएको हो। किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएपछि हिउँदमा धुलो र बर्खामा हिलोको समस्या अन्त्य भएको छ।
दिक्तेलस्थित शङ्धर साख्वाः चोकदेखि भानुचोकसम्मको सडक ढलान पुस २७ गते सम्पन्न भएसँगै सम्पूर्ण कामले पूर्णता पाएको हो। भौतिक पूर्वाधार कार्यालयमार्फत करसहित रु ९५ लाख ८५ हजार ७८ लागतमा निर्माण कम्पनीले उक्त सडक ढलान कार्य सम्पन्न गरेको जनाएको छ।