निर्वाचनको दिन आन्तरिक हवाई उडान सञ्चालन हुने

mayukarajkumari

काठमाडौँ, 

प्रतिनिधिसभा सदस्यको निर्वाचनका दिन देशभर आवश्यकताअनुसार आन्तरिक हवाई उडान सञ्चालन गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गर्दै निर्वाचनका कारण हवाई सेवामा पूर्ण अवरोध नआउने स्पष्ट पारेको हो ।

प्राधिकरणका अनुसार देशभरका सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकता र मागका आधारमा सञ्चालन हुनेछन् । यस्तै, अन्तरराष्ट्रिय उडानहरू पनि नियमित रूपमा सञ्चालन हुनेछन्, तर मध्यपूर्वी गन्तव्यका उडान भने अपवाद रहने जनाइएको छ ।

मध्यपूर्वी मुलुकतर्फका उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा तय गरिने प्राधिकरणले जनाएको छ । वायुसेवा कम्पनीहरूले संशोधित उडान तालिकाअनुसार सेवा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण ती क्षेत्रतर्फका केही उडानहरू तत्कालका लागि स्थगित हुँदै आएको जनाइएको छ । यात्रुहरूलाई यात्रा अघि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी अद्यावधिक जानकारी लिन प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया