काठमाडौं,
बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आगामी चैत १ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सुरु गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गर्ने योजना बनाएको हो।
कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्डबाट १ अर्ब ४ करोड रुपैयाँ पूँजीको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जारी गरिने कुल शेयरमध्ये १० प्रतिशत अर्थात् १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको छ।
यस अन्तर्गत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का अति प्रभावित क्षेत्रका स्थायी बासिन्दालाई ५ लाख २० हजार कित्ता (५० प्रतिशत), वडा नं. ५, ६, ७ र ११ का प्रभावित क्षेत्रका बासिन्दालाई ३ लाख १२ हजार कित्ता (३० प्रतिशत) र बाँकी अन्य क्षेत्रका स्थायी बासिन्दालाई २ लाख ८ हजार कित्ता (२० प्रतिशत) शेयर निष्कासन गरिनेछ।
स्थानीय बासिन्दालाई शेयर बाँडफाँड गरेपछि, सर्वसाधारणतर्फको १० लाख ४० हजार कित्तामध्ये १ लाख ४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि जारी गरिने कम्पनीले जनाएको छ। यदि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको शेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी शेयर सर्वसाधारणमा समायोजन गरी निष्कासन गरिनेछ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।